काठमाडौं - नेपाल प्रहरी हेडक्वाटरले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भएको आशंकामा एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए जाँच दुर्इ वटा प्रयोगशालामा भएको जनाएको छ।
निलम्बित एसपीसहित उनका छोरा किरणराज विष्ट र आयुष विष्टको डिएनए परिक्षण प्रहरीको प्रयोगशालामा मात्र भएको भन्दै आलोचना भइरहेकोबेला प्रहरी हेडक्वाटरले सोमबार विज्ञप्तीमार्फत यस्तो प्रतिक्रिया दिएको हो।
प्रहरी हेडक्वाटरबाट जारी विज्ञप्तीमा लेखिएको छ, '१३ वर्षीया बालिका निर्मला पन्तको विषयमा एसपी विष्ट, उनका छोरा किरणराज विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण नेपाल प्रहरीको प्रयोगशालमा मात्र नभएर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि गरिएको छ।
निर्मला बलात्कारपछि हत्या प्रकरणमा यसअघि पक्राउ परेका दीलिप सिंह विष्टको डिएनए जाँच राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्रै भएको थियो। निर्मलाको योनीबाट संकलन गरिएको 'भेजिनल स्वाब' को डिएनए र तीन जनाको डिएनए परीक्षणपछि म्याच गरिएको थियो। म्याच गर्दा तीनै जनाको डिएनए नमिलेको आइतबार सार्वजनिक गरिएको थियो।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको दोषी अझै पत्ता लाग्न सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४