जनकपुरधाम- आफ्नै जेठानीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले देवरानीसहित दुईजनालाई पक्राउ गरेको छ।
धनुषाको हँसपुर नगरपालिका-८ की २८ वर्षीया संजुदेवी मण्डलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मण्डलकी देवरानी २४ वर्षीया बिकाकुमारी मण्डल र सोही ठाउँ बस्ने २७ वर्षीया लालबाबु मण्डललाई पक्राउ गरेको हो।
३ असोजमा अंजु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। शुरुमा अंजुको आफैं मृत्यु भएको बताइएपनि पोष्टमार्टमको रिपोर्टमा उनको घाँटी थिची हत्या गरिएको भनी खुलेको थियो।
पोष्टमार्टमको रिपोर्ट आइसकेपछि अनुसन्धान शुरु गरेको प्रहरीले अंजुको देवरानी बिका र स्थानीय लालबाबुले घाँटी थिची हत्या गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
बिका र लालबाबुले अंजुको हत्या किन गरेको विषयमा थप अनुसन्धान भइहरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी दीपेन्द्रबहादुर शाहीले बताएका छन्।
स्थानीयवासीका अनुसार बिका र लालबाबुबीच अवैध सम्बन्ध रहेको अंजुले जानकारी पाएकी थिइन्। आफूहरुको अवैध सम्बन्धबारे अंजुले थाह पाएको र बाहिर सार्वजनिक गर्न सक्ने आशंकामा उनको हत्या गरेको स्थानीयवासीले आशंका गरेका छन्।
पक्राउ परेका बिका र लालबाबुले संजुको हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ। वारदातमा प्रयोग गरिएको ग्लोब्ससमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४