काठमाडौं- सांसद पुष्पा भुसालले बारास्थित दाेस्राे अन्तराष्ट्रिय निजगढ विमानस्थलको फीजीबीलिटी अध्ययन, डीपीआर नै नआएकाे अवस्थामा एक्कासी वन फडानीको प्रसंग आएको बताइन् । एक्कासी निजगढ विमानस्थल बनाउनको लागि २ हजार पाँच सय हेक्टरमा वन फडानी गर्न पर्ने प्रसंग किन र कहाँबाट अाएकाे उनकाे जिज्ञासा छ ।
‘तत्काल उक्त क्षेत्रमा २४ लाख रुख कटान गर्नु पर्ने प्रसंग बाहिर आएको छ,’ उनले भनिन् ‘एकै पटक आएको यस्तो वनफडानीले विवाद ल्याएको छ।’ पूर्वाधार निर्माणअघि किन आयो वन फडानी ? उनको प्रश्न छ।
पूर्वमन्त्री तथा सांसद भिम रावलले रुख कति काट्ने विषयलाई पारदर्शी बनाउनु पर्ने बताए। विमास्थल बनाउने भन्दैमा आँखा चिम्लिने कुराे नअाउने उनकाे भनाइ छ।
‘यद्यपि निजगढ विमान स्थल बनाउने सम्बन्धमा सरकारले खुट्टा कमाउनु हुदैन,’ उनले भने ‘पर्यावरण, लगानीलगायतको अवस्था आए नाइनास्ती गर्ने कुरा हुँदैन। कमसेकम पनि हामीले सय वर्षपछिको परिकल्पना गरेर विमानस्थल निर्माण गर्नुपर्छ।’
पूर्व प्रधानमन्त्री तथा सांसद माधव नेपालले निजगढ विमास्थलको विषय संवेदनशिल भएको बताए। विमानस्थल बनाउने कुरा सही छ। ‘तर विमानस्थल बनाउने नाममा आर्थिक अनियमितता हुन दिनु हुन्न,’ उनले भने ‘विगतमा पनि आत्मनिर्भरको विषयहरुमा षड्यन्त्र हुँदै आएको छ।’
कांग्रेस नेता तथा सांसद डा नारायण खड्काले निजगढ विमास्थलको अध्ययन अनुसन्धान धेरै हिसाबले कमजोर रहेको अाराेप लगाए । अनुमानको आधारमा निजगढ विमानस्थ निर्माणकाे प्रक्रिय अघि बढेको उनको भनाइ छ। ‘२३ वर्ष अघिदेखि शुरु भए पनि निजगढ विमान स्थलको अध्ययन अनुसन्धान हाइपोथेटिकलको रुपमा मात्रै आएको छ,’ उनले भने ‘इआईए रिपोर्टलाई पुनरावलोकन गर्नु आवश्यक छ।’
उक्त विमान स्थल बनाउनको लागि ६० वटा प्यारामिटर मापदण्ड छ। तर अहिले २०-२२ ओटा मात्र पुरा भएको देखिन्छ। उनकाअनुसार साढे ८ हजार हेक्टर विमानस्थलमा साढे ४ लाख रुख काटिदैछ। एउटा रुख काटे बराबर २५ ओटा रोप्नु पर्छ। त्यसको आधारमा एक करोड १२ लाखभन्दा बढी रुख रोप्नुपर्छ। रूख राेप्ने सम्बन्धमा भने कुनै पनि तयारी अघि नबढाएकाे उनकाे बुझाइ छ ।
संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयकाअनुसार ५०-५२ सालदेखि (सन् १९९५) उक्त विमानस्थल बनाउने सम्बन्धमा प्रक्रिया शुरु भएको हो। त्यसपछि ०६६ मा विस्तृत अध्ययन प्रतिवेदन पेश भएको थियो।
पर्यटनमन्त्री रविन्द्र अधिकारीले प्रतिवेदन ०७५ जेठ १० गते स्वीकृती भएको बताए। उनकाअनुसार तीन वर्षअघि इआइएको लागि स्वीकृत गरिएको हो। कन्सल्टेन्ट हायर गरेर चार किला तोकि सकिएको छ। जसमा ४६-४७ प्रतिशत मुआब्जा वितरण भइसकेको छ।
उनले पछिल्लाे समय निजगढ विमानस्थल निर्माणाकाे लागि २४ लाख रूख काटिने भन्ने हल्ला मात्रै भएकाे बताए । उनकाअनुसार यतिनै रूख काटिने भन्ने यकिन छैन । ‘अावश्यकताअनुसार काटिने हाे,’ उनले भने ‘साेहीअनुसार रूख राेप्नकाे लागि तयारी गर्नु पर्ने अावश्यक रहेकाे छ । त्यसका लागि समेत प्रक्रिया अघि बढाएका छाैं ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४