आइतबार, साउन ३, २०८३

दशैंको टिकट ब्ल्याकमा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ९ असोजदेखि यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरे। ६ दिन नबित्दै सबै बुकिङ सकिएको दाबी गरेका छन्। त्यसका कारण दशैंमा घर जाने यात्रीले ब्ल्याकमा टिकट खरिद गर्नुपर्ने अवस्था देखिएको छ।

बस काउन्टरहरूमा पुगेका यात्रीलाई कर्मचारीले भन्ने गर्छन्, ‘हामीसँग असोज २६ पछिको टिकट छैन। जाने दिन नै आउनुहोस् र काट्नुहोस्।’ केही कम्पनी र समितिले १ कात्तिकपछिको टिकट केही दिनपछि मात्रै खुल्ने बताएका छन्। यसबाट दशैंको ‘पिक सिजन’मा ब्ल्याकमा टिकट बिक्रीको चलखेल बढ्ने उपभोक्तावादीहरूको भनाइ छ।

स्थलगत रिपोर्टिङका क्रममा काठमाडौं गोंगबुस्थित नयाँ बसपार्कमा भेटिएका जीवन बम टिकट नपाएर टोलाइरहेका थिए। दशैंमा घर जान टिकट नपाएको उनले गुनासो गरे। सुर्खेत घर भएका उनले भाडादरसमेत बढाइएको नेपाल समयलाई जानकारी दिए।

‘२/३ दिनपछि घर जाने योजना थियो, त्यसका लागि टिकट गर्न आएको, भेटिनँ,’ उनले भने, ‘सातादिन अघिसम्म १२ सय रुपैयाँसम्म पाइने बसको साधारण भाडा अहिले १४ सय ५० पुगेको छ।’

पछिल्लो पटक वृद्धि भएको भाडाअनुसार १० प्रतिशत बढ्नुपर्ने हो। तर, यातायात व्यवसायीले १७ प्रतिशत बढाएर १४ सय ५० पुर्याएका छन्। १५ सय रुपैयाँ रहेको काठमाडौं-सुर्खेतको एसी डिलक्स बक्सको भाडा अहिले १७ सय ४० रुपैयाँ पुगेको उनको भनाइ छ।


पाल्पाबाट केही दिनअघि मात्रै काठमाडौं आएका सञ्जीव थापाले सरकारले पाँच सय ५९ रुपैयाँ तोकेकामा व्यवसायीहरूले सात सय ३५ रुपैयाँ लिइरहेको जानकारी दिए।

काठमाडौं-पाल्पा एसी बसको भाडा यसअघि आठ सय रुपैयाँ थियो। अहिले बढाएर आठ सय ८० पुर्याएको उनले बताए। ‘डिलक्स र डिलक्स एसीका नाममा यातायात व्यवसायीहरू मनपरि भाडा असुलिरहेका छन्,’ उनले भने। 

झापाको बनियानी जान टिकट काट्न आएकी एक किशोरी पनि टिकट नपाएर बसपार्कमा भौंतारिइरहेकी थिइन्। दशैंमा घर जान अग्रिम टिकट बुकिङ गर्न आएकाहरू विभिन्न बसपार्क र टिकट काउन्टरमा यसरी नै अलपत्र भेटिन्छन्।

काठमाडौं-काँकडभिट्टाको टिकट बिक्री गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका एक टिकट बिक्रेताले असोज २२ देखि २९ सम्मको टिकट सकिएको बताए। ‘त्यतिबेलासम्मको टिकट प्याक भइसकेको छ,’ उनले भने, ‘असोज २९ पछि सोझै काउन्टरमा आएर काट्नु होला।’

कात्तिक १ मा दाङको तुलसीपुर जाने योजना बनाएका एक किशोर राजधानीका सबैजसो विभिन्न टिकट काउन्टरको फेरो मारिसकेका छन्। तर, कतै पनि उनलाई टिकट उपलब्ध भएन। उनका अनुसार दाङ तुलसीपुरसम्मको टिकट असोज २८ सम्म अग्रिम बुकिङ पाइएन। त्यसपछि पाउन सकिने आशा भने उनले मारेका छैनन्।

यातायात व्यवसायी कम्पनी, समितिलगायतले आफूखुशी टिकट खोल्ने, बुकिङ खोल्ने र भाडादर तय गर्ने गरेको रिपोर्टिङका क्रममा भेटिएका यात्रुहरूको गुनासो छ।

केही यातायात कम्पनी तथा समितिहरूले असोज २४ पछिको टिकट नखुलेको बताइरहेका छन् भने केहीले बिक्री गरेर पनि सकिएको जनाएका छन्।

डिलक्स, एसी, सुपर डिलक्सलगायत गाडीको नाममा बढी पैसा असुल्ने तर जाने बेलामा थोत्रा गाडी भिडाउने गरेको गुनासो पनि यात्रुहरूको छ।

गोंगबु बसपार्कस्थित हेल्प डेक्सका प्रहरी जवान देवेन्द्र बलायरले यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खोलेसँगै व्हात्तै बुकिङ बढेको बताए। ९ असोज अघिसम्म बढीमा एक हजारको संख्यामा टिकट बुकिङ भएकामा त्यसपछि पाँच हजार नाघेको उनको भनाइ छ।

यस्तै, गोंगबुबाट बाहिरिने गाडीको संख्यासमेत ८ असोजअघि चार सयको हाराहारीमा रहेकामा त्यसपछि उक्त संख्या व्हात्तै बढेको बलायरले जानकारी दिए।

उनले पनि २६ असोजपछिको अग्रिम टिकट नपाएको गुनासो आइरहेको स्वीकारे। ‘अशक्तहरूको हकमा अहिलेसम्म त्यस्ता टिकट बुकिङ मिलाइदिइरहेका छौं,’ उनले भने।

‘काठमाडौंबाहिर जाने यात्रुको भाडा तोकिएकै दरमा पाउनुपर्छ। त्यसका लागि प्रहरीले निगरानी बढाएको छ।’


यस वर्ष राजधानीबाट २५ लाखको संख्यामा यात्रुहरू बाहिरिने अनुमान छ। ट्राफिक प्रहरीले हालसम्म ४५ हजाभन्दा बढी संख्यामा टिकट बुकिङ भइसकेको जानकारी दिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले राजधानीबाहिर जाने यात्रुहरूको भाडादरलाई गम्भीर रूपमा लिइएको बताए। ‘काठमाडौंबाहिर जाने यात्रुको भाडा तोकिएकै दरमा पाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि हामीले निगरानी बढाएका छौं।’

यात्रीको सहयोगका लागि काठमाडौंंमा मात्रै १० वटा हेल्प डेक्स स्थापना गरी प्रहरी जवान खटाइएको उनले जानकारी दिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्तकुमार पन्तले दशैंमा यात्रुको आवतजावतलाई व्यवस्थित गर्न राजधानीमा १३ स्थानमा नागरिक सहायता कक्ष राखिएको जानकारी दिए।

यस्तै, मुलुकभर ३२ स्थानमा चालकका लागि रिफ्रेसमेन्ट सेन्टर राखिएको, लामो दूरीका लागि दुई जना चालकको व्यवस्थाका लागि काम अघि बढाइएको र १४ जिल्लामा टाइम कार्डको व्यवस्था गरिएको उनले जानकारी दिए।राजधानीमा अहिले १४ सय ५० ट्राफिक प्रहरी खटिएको उनले जानकारी दिए।



उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्सिनाले असोज २७, २८ र २९ को गाडीको टिकट नपाइएको बताए। ‘अहिले टिकट काउन्टरमा ती दिनका टिकट काट्न गए पाउने अवस्था छैन,’ उनले भने।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष योगेन्द्र कर्माचार्यका अनुसार विगतमा गाडी थपिन्थे, अहिले थपिएका छैनन्। ‘गत वर्ष ४/५ सय बस थपिएका थिए,’ उनले भने, ‘यस वर्ष गाडी थप्ने कुनै तयारी छैन।’

उनका अनुसार अर्को समस्या मुग्लिन-नारायणगढ सडक हो। विस्तारका लागि भत्काइएको सडक तत्काल नबनाइए पिक आवरमा समस्या देखिने उनको भनाइ छ।

महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले विगतमा जस्तो चाप यस वर्ष नदेखिएको बताए। अर्घाखाँची, गुल्मीलगायत विकट स्थानसम्म चल्ने गाडीहरूमा भने चापाचाप रहेको उनको भनाइ छ।

सरकारले पछिल्लो समय गाडी सञ्चालनका लागि कम्पनी दर्ता गर्न अनिवार्य गरेको छ। अन्योलमा परेका यातायात व्यवसायीहरूले गाडी थप्न चासो नदिएको अधिकारीले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।