काठमाडौं- निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेतलाई मुस्ताङ कारागारमा पठाइएको छ।
नख्खु कारागारमा रहेका समिरमानले कारागारभित्रैबाट आपराधिक क्रियाकलाप गर्न थालेपछि मुस्ताङ पठाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौंले बस्नेतलाई गौचन हत्यामा मुख्य योजनाकार ठहर गर्दै ९ माघ ०७४ मा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाएको थियो।
प्रहरी तथा कारागार व्यवस्थापनको सहमतिमा एक सातामै बस्नेतलाई नख्खु कारागार सारिएको थियो। गम्भीर प्रकृतीको अपराध तथा मुद्दा टुंगिइनसकेको अवस्थामा कारागारमा रहेका कैदीलाई अर्को कारागारमा सार्न नमिल्ने प्रावधान छ। उक्त प्रावधानविपरित समिरमानलाई सुविधाजनक मानिने नख्खु कारागार सारिएको थियो। बस्नेललाई सोमबार बुद्ध एयरको जहाजबाट पोखरा हुँदै मुस्ताङ पठाइएको हो।
बालाजु तथा बसपार्कलाई केन्द्र बनाएर गुण्डागर्दी तथा आपराधिक क्रियाकलाप गर्दै आएका बस्नेत इन्काउन्टरमा मारिएका कुमार घैंटेका मित हुन्। घैंटे हत्याको बदला लिन बस्नेतले प्रहरीमाथि नै आक्रमणको योजना बनाउँदै गर्दा पक्राउ परेका थिए।
गौचनको ह्त्यामा अपराधीलाई सेल्टर दिर्इ हतियार उपलब्ध गराएको र भारतीय 'कन्ट्रयाक्ट' किलरलाई सीमा पार गर्न सहयोग गरेको आरोपमा बस्नेत पक्राउ परेका थिए।
उनलार्इ १७ मंसिर ०७४ मा केन्द्रीय अनुसन्धान ब्युरो सीआर्इबीको टोलीले दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। स्रोतका अनुसार बस्नेतकी श्रीमती र एक प्रहरी अधिकारीको सहयोगमा बस्नेतले सहज रूपमा आफू अनुकुलको कारागारमा सरुवा मिलाउँदै आपराधिक क्रियाकलाप गर्दै आएका थिए। मिलेमतोकै कारण गौचन हत्यामा संलग्न बस्नेतका आर्थिक व्यवस्थापन गर्ने रोशन बुढाथोकी, सुटर अमरबहादुर राणा, लोप्साङ राई पक्राउ परेका छैनन्।
त्यतिखेर प्रहरीले केहीलाई पक्राउ गरी मुद्दासमेत चलाएको थियो। बस्नेतलाई सीआईबीले पक्राउ गर्दा सेटिङमा चितवनबाट काठमाडौं ल्याएको थियो। स्रोतका अनुसार भैरहवाबाट श्रीमती र उनै डीएसपीको सेटिङमा स्विफ्ट गाडीमार्फत चितवन ल्याइएका बस्नेतलाई रहस्यमय ढंगले सीआईबीले सार्वजनिक गरेको थियो।
सीआईबीमा राखेर श्रीमतीदेखि अन्य आफन्तलाई सहज रूपमा भेट्न दिइएको र छानविन समितिलाई हस्तान्तरण नगरेको भन्दै आलोचना भएपछि सीआईबीले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४