आइतबार, साउन ३, २०८३

हामीलाई जालझेल अनि सीके राउतलाई मलजल?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेता राजेन्द्र महतोले संसदमा रहेका मधेशकेन्द्रित शक्तिहरूलाई जालझेल गर्दै सरकारले विखण्डनकारी समूहहरूलाई मलजल गर्न खोजेको गम्भीर आरोप लगाएका छन् । 

नेपाल समयसँग विशेष कुराकानी गर्दै महतोले भने, 'संसदमा आएका हामीलाई जालझेल गर्दै सरकार उपेक्षा गर्न खोज्दैछ तर सीके राउतलगायत समूहहरूलाई भने मलजल गरिरहेको छ ।' 

उनको प्रश्न छ, 'हामीलाई जालझेल अनि सीके राउतहरूलाई मलजल?' प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको राजपा सरकारको उपेक्षाका कारण छिट्टै सडकमा जाने संकेत महतोले दिए । 'यो हाम्रो रहर होइन, सरकारले नै सिर्जना गरिदिएको बाध्यता हो । हामीले धेरै सह्यौं, अब धैर्यको बाँध टुट्छ। त्यसको परिणाम गम्भीर हुन्छ,' उनले भने, 'हामीले यो सरकारको पछिल्लो गतिविधिलाई गम्भीर ढंगले समीक्षा गर्दा चित्त बुझाउने ठाउँ छैन। हाम्रा मागसम्बन्धमा यो सरकारलाई पटक-पटक ध्यानाकर्षण गरायौं तर सुनेन। अब एउटा ज्ञापनपत्र एक साताभित्र बुझाउँछौं, जुन अन्तिम चेतावनी हुनेछ।'

संविधान संशोधन, मधेश आन्दोलनमा बन्दी बनाइएकाहरूको रिहाइ, मुद्दा फिर्ता र संघीयता कार्यान्वयनलगायत माग सम्बोधन नगर्दा मुलुकमा अस्थिरता निम्त्याउने र संघीयता कमजोर बनाउने काम सरकारले गरेको आरोप महतोले लगाए। संघीयता पक्षधर आफूहरूलाई कमजोर बनाउँदै अलग राष्ट्र माग गर्ने सीके राउतलाई मलजल गरेको दाबी गरे। 

'हाम्रो एजेन्डालाई सम्बोधन नगर्ने सरकारले बिखण्डनको माग गर्नेलाई मलजल गरिरहेको तथ्य प्रष्ट छैन र?' महतोको प्रश्न थियो, 'मधेशलाई सीके राउतको हातमा सुम्पने काम वर्तमान सरकारले नगरे कसले गरेको छ त?' 

गत ३ असोजमा संविधान दिवसलाई कालो दिनका रूपमा मनाएको राजपाले सोही दिन जनकपुरमा अलग देशको माग गर्दै तराई मधेशमा पृथकतावादी आन्दोलन चर्काइरहेका सीके राउतले खुल्लमखुला आमसभा गरेका थिए । मधेश एसियाको नयाँ देश भएको ब्यानरनरसहित राउतले गरेको कार्यक्रमलाई राज्यले नियन्त्रण गर्न नसक्दा धेरै टिप्पणी भएका छन्। 

राजपा र सत्तामै बसेको अर्को दल संघीय समाजवादी फोरमका सयौंको संख्यामा प्रदेश-२ का कार्यकर्ता राउतको सभामा सहभागी हुन थालेपछि सत्तामा जान नपाएको राजपामा ठूलो चिन्ता व्यक्त भएको थियो। 

सरकारले आफूहरूको माग पूरा नगरे सशक्त आन्दोलनको चेतावनी दिएका राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले समेत आन्दोलनको चेतावनी दिएका थिए। तराईमा आफ्नो राजनीतिक विरासतमा राउतले धावा बोल्न सक्ने भयले राजपाका नेताहरूमा सडक संघर्षको हुटहुटी बढेको पाइन्छ।

संसदीय प्रणालीलाई आत्मसात गरेको दल भएकाले आफूहरू सदन छोडेर नजाने बताउँदै महतोले शान्तिपूर्ण सडक आन्दोलनमा जान भने बाध्य हुने वातावरण सरकारले निर्माण गर्दै गरेको प्रस्ट्याए। 

दुई तिहाइ बहुमतको सरकारले हत्या, हिंसा, बलात्कार र महंगी नियन्त्रण गर्न नसकेको र जनताको आशा पनि मरिसकेकाले सरकारलाई सच्चिन एक साताको अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाइने उनले बताए। राजपा अध्यक्ष मण्डलको अनौपचारिक बैठक एक सातायता बस्दै आएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।