काठमाडौं- प्रहरी प्रधान कार्यालयले झण्डै ८ हजारको संख्या नयाँ शक्ति माग गरेको छ । प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले प्रहरी निरीक्षक ( इन्सपेक्टर)देखि जवानसम्म करिब ८ हजारको दरखास्त आव्हान गरेको हो ।
महाशाखाले प्रकाशित गरेको सुचनाअनुसार प्रहरी निरीक्षक १०८ जना सहायक निरीक्षक ५२४ जना मागेको छ जवानमा भने ठूलो संख्या माग गरिएको छ । जवानका लागि मात्रै ६ हजार २ सय ४४ जनाको दरखास्त आव्हान गरिएको हो ।
प्रहरीमा अन्य प्रयोजका जनशक्ति पनि ठूलो संख्यामा मागिएको छ । भान्सेका लागि ३२० जनाको दरखास्त आव्हान गरिएको छ भने हजामका लागि १५ जना, सिलाई बुनाई सम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जनाको दरखास्त मागिएको छ । यस्तै खेलाडी तर्फ पनि प्रहरीले माग गरेको छ । प्रहरीले ३० जना खेलाडीको दरखास्त आव्हान गरेको हो ।
प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका साथै सातै प्रदेशका प्रहरी प्रमुख कार्यालयबाट दरखास्त दिन सकिने छ ।
त्यस्तै जवानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट पनि दरखास्त दिन सकिने छ । दरखास्त दिन असोज १८ गतेदेखि कार्तिक २९ गते सम्मको समय तोकिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४