विराटनगर- विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान शुरु भएको छ ।
विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल शुरु गरिएको छ ।
उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरुपमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया एवम् सुझाव सङ्कलन कार्यक्रमका सहभागी सरोकारवालाले सबै किसिमले विराटनगर नै प्रदेश नं १ को स्थायी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेका छन् ।
सहभागीले ऐतिहासिक, राजनीतिक र भौतिक संरचनालगायत सबै आधारमा स्थायी राजधानीका लागि विराटनगरको विकल्प नभएको बताए ।
नेपाली काङ्ग्रेस प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले विराटनगरलाई नै स्थायी राजधानी कायम गर्न आफूहरु लागिपरेको बताए । विराटनगर महानगरपालिका उपप्रमुख इन्दीरा कार्कीले विगतका अनुभवलाई ध्यानमा राखी विराटनगरलाई नै राजधानी घोषणा गर्नुपर्ने विचार व्यक्त गरे ।
एलिट क्लबका अध्यक्ष प्रा भेषराज धमलाले अरबौँ लगानी गरेर राजधानी अन्यत्र लानु उचित नहुने बताए । प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीले सम्पुर्ण मन्त्रालय र महत्वपुर्ण कार्यालयहरु एकस्थानमा राख्नुपर्ने विचार ब्यक्त गरे । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले विराटनगर बाहिर राजधानी घोषणा गर्नु दुर्भाग्यपुर्ण हुने धारणा राखे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४