चितवन- चितवनमा अटो रिक्सामा छुटेको साँढे तीन तोला सुन, पाँच हजार नगद र लत्ताकपडासहितको झोला फिर्ता गर्ने अटो चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सम्मान गरेको छ ।
१२ असोज साँझ लंकुबाट हाकिमचोक जाने क्रममा भरतपुर महानगरपालिका–८ की क्षेत्रकुमारी खरेलको निलो कालो रंगको झोला अटोमा छुटेको थियो । ना २ ह १८०८ नम्बरको अटो चालक भरतपुर–२२ पटिहानी निवासी हरिशंकर परियारले छुटेको झोला सकुशल खरेललाई बुझाई दिएका हुन् ।
अटोमा सुनसहितको महत्वपूर्ण सामान हराएपछि खरेलले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सामान हराएको बारे जानकारी गराएकी थिइन् । सो पश्चात ट्राफिक सबै क्षेत्रमा रहेका ट्राफिक युनिटलाई सर्कुशल समेत गरेको थियो ।
तर अटो चालकले आफै खरेलको घरमै लगेर सामान बुझाएका थिए । अटो चालकमा इमान्दारिता हुन्छ भन्ने उदाहरण परियारले प्रस्तुत गरेका कारण सम्मान गरिएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४