इटहरी- गत ४ असोजमा हत्या गरिएका सुनसरी भुटाहाका खुर्सिद आलमको परिवारलार्इ आइतबार गृहमन्त्री रामबहादुर थापाले भेटेर उनलार्इ शहीद घोषणा गरिएको प्रमाणपत्र र १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईसहित प्रदेश क्याबिनेटका सबै सदस्यसहित आलम परिवारलार्इ भेट्न पुगेका हुन्, मन्त्री थापा। उनले आलमकी पत्नी खोजिदा बेगमलार्इ भेटेर चेक र प्रमाणपत्र प्रदान गरे। सरकारले घटनाको भोलिपल्ट आलमलार्इ शहीद घोषणा र १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो।
श्रद्धाञ्जली सभामा बोल्दै गृहमन्त्री थापाले हत्यारालार्इ जसरी भए पनि पक्राउ गर्ने वचन दिए। उनले भने, ‘आलमका हत्यारा जहाँ भए पनि पक्राउ गर्छौं।’
छानविन समिति निकर्षविहीन
आलम हत्याको अनुसन्धान गर्न बनेको पाँच सदस्यीय छानविन समितिले अझै पनि केही निष्कर्ष दिन सकेको छैन। आलमलार्इ हानिएको गोलीको आकार, हतियारको प्रकार र प्रत्यक्षदर्शीको भनाइ संकलन मात्रै गरेको छ, छानविन समितिले। समितिका एक सदस्यका अनुसार आलमलार्इ साइलेन्सर र लेजरयुक्त सेमी अटोमेटेड पेस्तोलले गोली हानिएको छ।
ती सदस्यका अनुसार हत्याराले तीन वटा गोली हानेकामा आलमको टाउको र कोखामा गोली लाग्यो भने एक गोली बाहिर गएको थियो। आलमलार्इ ९ एमएमको गोली हानिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। कुन पेस्तोल प्रयोग भएको भन्नेबारेमा भने फोरेन्सिक प्रयोगशालाको रिपोर्टपछि मात्रै पत्ता लाग्ने बताइएको छ।
पाँच सदस्यीय छानविन समितिको नेतृत्व प्रदेश-१ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालले गरेका छन्। समितिमा सशस्त्र प्रहरीका एसपी रमेशकुमार थम्सु, जिल्ला प्रशासनका अधिकृत राजन पाण्डे र प्रदेश-१ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्र आचार्य छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४