शुक्रबार, जेठ १९, २०८०

सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा!

नागरिक उन्मुक्तिले प्रहरी पक्राउपछि जेल पुगेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई बिनासर्त रिहा नगरे प्रदेश सरकारलाई विश्वासको मत नदिइने बताएसँगै मुख्यमन्त्री रावल अल्पमतमा पर्ने देखिएको हो।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस हुने देखिएको छ। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो। 

Everest Bank

नागरिक उन्मुक्तिले  प्रहरी पक्राउपछि जेल पुगेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई बिनासर्त रिहा नगरे प्रदेश सरकारलाई विश्वासको मत नदिइने बताएसँगै मुख्यमन्त्री रावल अल्पमतमा पर्ने देखिएको हो।

चौधरी कैलाली २ बाट संघीय सदनमा निर्वाचित सांसद हुन्। ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार सूचीमा रहेका सांसद चौधरीलाई शुक्रबार कैलाली कारागार चलान गरिएको छ। 

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत २७ पुसमा एमाले, नेकपा माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर नागरिक उन्मुक्तिले विश्वासको मत नदिने धारणा सार्वजनिक गरेपछि सरकारको स्थायित्वबारे अन्योल भएको छ।

National life insurance
Metro Mart

संविधानअनुसार मुख्यमन्त्री रावलले आगामी २७ माघभित्र विश्वासको मत लिनुपर्नेछ। रावल नेतृत्वको मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन।

बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको पनि मन्त्रालय तोकिएको छैन। प्रदेशसभाको सभामुखको निर्वाचनका लागि तेस्रो पटक बोलाइएको बैठकमा नागरिक उन्मुक्ति पार्टीले सत्तापक्षीय उम्मेदवारको पक्षमा मत दिन सहमत भएको थियो।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताए। उनले भने, ‘संघ र प्रदेशमा सहकार्य गरिरहेका बेला पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेपछि वातावारण थप बिग्रिएको छ। हामीले उठाएका माग सम्बोधन नभएसम्म विश्वासको मत दिने वातावरण छैन। आफ्ना एजेन्डा डुबाएर कसैलाई समर्थन दिन सक्दैनौं।’ 

५३ सदस्यीय प्रदेशसभामा सत्तापक्षीय एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रापाका १ सदस्य छन्। बहुमत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। प्रदेशसभामा विपक्षीनेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।

एमाले नेता एवं प्रदेशसभा सदस्य धर्मराज पाठकले एक–दुई दिनमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने दाबी गरे। ‘विश्वासको मत लिन सत्तापक्षीय दलको समर्थन जुट्नेमा ढुक्क छौं। मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गर्ने चार वटै दलबीच अन्तिम चरणको छलफल भइरहेको छ। विश्वासको मत लिन कुनै संकट परेको छैन’, उनले भने।

प्रकाशित: Feb 04, 2023| 02:32. 26 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्