काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा स्थापित ट्रस्टको ६९ रोपनीभन्दा बढी जग्गा सरकारले जफत गर्ने निर्णय गरेको छ। तेह्रथुमको साविक आठराई पोखरी वडा नम्बर ४ र ५ (हाल आठराई गाउँपालिका)स्थित ओली ट्रस्टका नाममा रहेको झन्डै ७० रोपनी जग्गा जफत गर्ने निर्णय तेह्रथुम मालपोतले गरेको खुलेको हो।
ओली ट्रस्टको नाममा हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएकाले ६९-१०-१-० क्षेत्रफलको जग्गा सरकारका नाममा दर्ता गर्ने तेह्रथुम मालपोत कार्यालयले गरेको निर्णयमा उल्लेख छ। तेह्रथुम मालपोत कार्यालयका अनुसार उक्त निर्णय असार २१ गते नै भएको हो। त्यसबेला ओली नै प्रधानमन्त्री थिए।
ओली ट्रस्टका नाममा १४३-१४-१-० क्षेत्रफलको जग्गा कायम भएको थियो। ओली प्रधानमन्त्री भएकै बेला उक्त जग्गा खरिद गरिएको थियो। उक्त जग्गा भूमि सम्बन्धी ऐन २०२१ को दफा ७ को व्यवस्था विपरीत रहेकाले जफत गर्ने निर्णय गरिएको मालपोत कार्यालयले जानकारी दिएको छ। कुनै पनि व्यक्ति वा संस्थाका नाममा पहाडी जिल्लामा ७५ रोपनीभन्दा बढी जग्गा राख्न नपाइने व्यवस्था भूमिसम्बन्धी ऐनमा छ।
