आइतबार, साउन ३, २०८३

भाग्यले बाँच्छन् कर्णालीका सुत्केरीहरू

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कालिकोटको महाबु गाउँपालिका-३ की ३२ वर्षीया मनिषा सिंहको २१ वैशाखमा क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भयो ।

सुरक्षित रूपमा सन्तानलाई जन्म दिने अभिलाषा बोकेर तीन महिनाअघि नै सुर्खेत झरेकी सिंह न आफू बाँच्न सकिन्, न सन्तानलाई जन्म दिन सकिन् । हिँडेर अस्पतालको बेडसम्म पुगेकी सिंहको पाठ्यघरको पानी फोक्सोमा पुगेपछि मृत्यु भएको अस्पतालले प्रतिक्रिया दियो ।

तर, आफन्तहरूले समयमै चिकित्सक नआउँदा उनको मृत्यु भएको दाबी गरे । अन्ततः अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भयो । चिकित्सक र अस्पतालविरुद्ध चर्का नाराले उग्ररुप लिन थालेपछि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अस्पतालमै पुगेर आन्दोलनलाई साम्य पार्नुपर्ने अवस्था आयो ।

दैलेख डाँडापराजुलकी सिर्जना विकले गएको ८ वैशाखमा वीरेन्द्रनगरको सडकको पेटीमै सन्तानलाई जन्म दिइन् । अस्पतालमा प्रस्तुति हुँदा आफू र सन्तानलाई कुनै अप्ठेरो नहुने बुझेकी विकले अन्ततः सडकमै बच्चा जन्माउनुपर्ने अवस्था आयो । सन्तान जन्माउनुभन्दा तीन दिनअघि नै क्षेत्रीय अस्पतालत आएकी विकलाई बेड नभएको र बेथा नलागेको बताउँदै अस्पतालले फिर्ता गर्‍यो ।

छिमेकीसँग २/४ पैसा सापट काढेर सुर्खेत झरेकी विकको अस्पतालमा सन्तान जन्माउने आशा पूरा भएन । सार्वजनिक बिदा र बोलाउँदा पनि एम्बुलेन्स नआएपछि विकले एउटा कम्मलको भरमा सडकको पेटीमै सन्तानलाई जन्म दिइन् । यो नै जिन्दगीको सबैभन्दा पीडा र स्मरणको क्षण बन्यो, उनका लागि । भाग्यवस, उनी र सन्तानलाई कुनै तलमाथि भएन ।

अस्पतालको बेडमा पुग्दा पनि मृत्युवरण गर्ने सिंह र सडक पेटीमै सन्तानलाई जन्म दिने विक कुनै संयोग र वियोगको कथाको पात्र नभई कर्णालीका आमाहरूका दृष्टान्त हुन् । कहिले हेलिकोप्टर कुर्दाकुर्दै त कहिले अस्पतालतर्फ दौडिँदा दोडिँदै प्रसव पीडाको अन्तिम क्षणमा पुग्छन्, सुत्केरीहरू । कर्णालीको भौगोलिक विकटता र दक्ष जनशक्ति अभावका कारण भगवान पुकार्नुको विकल्प हुँदैन, उनीहरू सामू ।

एकातिर दक्ष जनशक्तिको अभाव, अर्कातर्फ सामाजिक अन्धविश्वासमा कर्णालीका अधिकांश आमाहरू भगवानको भरोसामा बाँच्दै आएका छन् । प्रदेशको एक मात्र क्षेत्रीय अस्पतालमा पुगेकी सिंहको मृत्युवरण र विकले सडकमै बच्चा जन्माउनुको पीडाले सिंगो कर्णालीका आमाहरूको दर्दनाक अवस्थाको चित्रण गर्छ ।

प्रदेशको राजधानीमा गर्भवतीहरूले भोग्नुपरेको यो पीडाभन्दा सयौ गुणा दर्दनाक छ, हुम्ला र डोल्पाका आमाहरूको अवस्था । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका ती जिल्लामा चिकित्सकजतिकै महत्वपूर्ण मानिन्छन्, हेलिकोप्टर ।

भौगोलिक विकटता र जनचेतना अभावका कारण ५७ प्रतिशत सुत्केरीहरू अस्पतालको पहुँचभन्दा बाहिर छन् । स्वास्थ्य संस्थामा सन्तान जन्माएका ५७ प्रतिशत आमामध्ये पनि ४५ प्रतिशतले मात्रै दक्ष स्वास्थ्यकर्मीबाट सेवा पाएका छन् । जनशक्ति अभावले अस्पतालमा आएका आमाले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कर्णालीमा दरबन्दीको ४० प्रतिशत मात्रै मेडिकल अधिकृत छन् । प्रदेशमा एक क्षेत्रीय र एक शिक्षण अस्पताल छन् । १० वटा जिल्ला अस्पताल, दुई सरकारी अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, तीन सय ५१ स्वास्थ्य चौकी छन् ।

यस्तै, ६५ वटा सामुदायिक स्वास्थ्य एकाइ, १० शहरी स्वास्थ्य केन्द्र, १० आयुर्वेद अस्पताल, ३७ निजी स्वास्थ्य संस्था र एक जिन एक्सपोर्ट प्रयोगशाला छन् । भौगोलिक विकटता, दक्ष जनशक्ति नहुनु र सामाजिक अन्धविश्वासका कारण भगवानको भरोसामा बाँच्दै आएका छन्, कर्णालीका सुत्केरी आमाहरू ।

यस्तो छ स्वास्थ्य नीति ?

प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा १५ देखि २५ बेडको आधारभूत अस्पताल र प्रत्येक जिल्लामा ५० बेडको विशेषज्ञ अस्पताल निर्माण गर्ने नीति लिएको छ । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश मातहतमा ल्याउने र थप स्तरोन्नती गर्ने जनाएको छ । 

१० वटा जिल्लामा विस्तार र सुर्खेत क्षेत्रीय अस्पतलालाई मेडिकल कलेज तथा शिक्षण अस्पतालको रूपमा विकास गर्ने सरकारको लक्ष्य छ । 

आकस्मिक स्वास्थ्यका लागि एयर एम्बुलेन्स र प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्वास्थ्य प्रहरीको व्यवस्था गर्नेलगायत योजना पनि छन् ।

प्रदेश सरकारले कर्णालीका सुत्केरी आमाहरू बचाउनका लागि एक करोड रुपैयाँ छुट्याएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले एयर एम्बुलेन्स सेवामार्फत दुर्गमका सुत्केरी महिलाको उद्धारका लागि उक्त बजेट छुट्याएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।