आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाउँलेले बन्द गराए मिस्त्रीखोला जलविद्युतको निर्माण

गाउँलेले बन्द गराए मिस्त्रीखोला जलविद्युतको निर्माण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् । 

सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् । 

आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिनुभयो । नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ । 

पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको मागलाई आयोजनाले बेवास्ता गरेकाले बाध्य भएर काम बन्द गराउनु परेको पुनले बताए ।  

वडाध्यक्ष चन्द्रप्रकाश फगामीले स्थानीयवासीको माग सम्बोधन गराउन पहल गरे पनि आयोजनाका प्रतिनिधिले बेवास्ता गरेकाले समस्या भएको बताए ।  

आयोजनाको सुरुङ निर्माणका क्रममा खानेपानीका मुहान सुकेको स्थानीयवासीले बताएका छन् । पानी निस्किएपछि आयोजनाको सुरुङ निर्माणको कामसमेत प्रभावित बनेको छ । सन् २०१६ को जुन १३ देखि निर्माण शुरु भएको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानको काम साठी प्रतिशतभन्दा बढी सकिएको जनाइएको छ । 

नारच्याङको नीलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध, दुई हजार २८८ मिटर सुरुङ, एक हजार ५०० मिटर पेनस्टक पाइप र बेँशीगाउँस्थित कालीगण्डकीको बायाँ किनारमा विद्युत्गृह रहेको छ । 

नारच्याङ बेँशीगाउँदेखि बाँधसम्मपुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजनाको रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।