बुटवल– रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालवाहक सवारी रोकेर विरोध गरेका छन्। क्षमताभन्दा तेब्बर लोड बोकेका भारतीय मालबाहक ट्रकका कारण नेपाली ट्रक व्यवसायीको लगानी ध्वस्त पारेको भन्दै भारतीय मालवाहक गाडी रोकेर प्रशासनको ध्यानाकर्षण गराएका हुन्।
भारतबाट भारवाहन क्षमताभन्दा तेब्बर लोड बोकेर आउने र ती सवारी सीधै मुलुकभर पुग्दा नेपाली मालवाहक सवारी खाली बस्नुपरेको व्यवसायीको गुनासो छ।
भार क्षमताभन्दा बढी सामान बोकेर भारतीय गाडी निर्वाध चल्दा नेपालका मालवाहक सवारी खाली बस्नुपरेको र भारतीय गाडीका कारण नेपालका सडक विग्रिने गरेको भन्दै व्यवसायी नाकामा भारतीय मालवाहक गाडी रोकेका हुन्।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले भारतीय ओभरलोड बोकेका गाडीका कारण आफूहरुका मालवाहक सवारी खाली बस्नुपरेको र नेपालका सडक सञ्जाल भत्किएकाले विरोधमा उत्रिएको बताए।
क्षमताभन्दा दोब्बर–तेब्बर सामान बोकेका यी सवारी भन्सार विन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने कानूनी व्यवस्था छ। तर, कानून अवज्ञा गर्दै ओभरलोड बोकेका गाडी नेपालका जुनसुकै ठाउँमा निर्बाध चलिरहेका छन्। नियमक निकाय तैं चुप मै चुप भएकाले समस्या विकराल भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले बताए।
मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका– २०७४ अनुसार भारतबाट ओभर लोड बोकेर आउने गाडीले भन्सार विन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था छ। तर, ओभरलोड बोकेर आउने भारतीय गाडीको भारमिलान हुँदैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका निर्मित कार्यालय प्रमुख दामोदर मल्लले नाकामा ओभरलोड गाडीलाई अधिकतम एक हजार ५ सय रुपैयाँ जरिवाना काटेर छाड्ने गरेको छ। जरिवाना काटेकै भरमा नेपालभर निर्बाध चल्न दिइँदा नेपाली व्यवसायी फुर्सदिला भएका हुन्।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले भने आर्थिक ऐन र भन्सार ऐनले ओभर लोड हेर्ने जिम्मेवारी नदिएको भन्दै पन्छिने गरेका छन्।
नियमअनुसार नेपालमा चल्ने मालवाहक ६ चक्के सवारले ९.६, १० चक्केले १६.२, १२ चक्केले २१, १४ चक्केले २५ र १८ चक्केले ३० टन बोक्न पाउँछन्। यही व्यवस्थाअनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था छ। तर, भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेका छन्।
भारतीय मालवाहक गाडीलाई जरिवानाकै भरमा नेपालमा निर्वाध चल्न दिएको छ तर नेपाली मालवाहक गाडीलाई ३० टनभन्दा बढी बोक्नमा रोक लगाइएको छ।