काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । कसैले नेपालको १० हजार १९ वर्ग किमि भूमि हराएको खुलासा गरेका छन् भने कसैले सत्तारुढ दल नेकपाभित्रको आन्तरिक द्वन्द्व चर्किएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले 'सरकारी दस्तावेजमै घट्यो देशको क्षेत्रफल : खोइ १००१९ वर्ग किमि भूमि' शीर्षकमा मुख्य समाचार छापेको छ । संघीयमामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलव ३५ वर्ग किमि मात्र पाइएको छ । नेपालको भूमि १ लाख ४७ हजार १ सय ८१ वर्ग किमिमध्ये १० हजार १८ दशमलव ९६५ वर्ग किमि हराएको अन्नपूर्णले खुलासा गरेको छ । समाचारमा जनाइए अनुसार हराएको भूमि करिब १४ वटा सिंगापुरजति हो ।
'प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ' शीर्षकमा एङ्कर न्यूज छापेको आजका नयाँ पत्रिकाले 'प्रवुद्ध समूह भेट्न मोदीको समय छैन' शीर्षकमा मुख्य समाचार लेखेको छ । सीमा र सन्धीका असमझदारी हटाउन नेपाल र भारतले दुई वर्षअघि गठन गरेको प्रवुद्ध ब्यक्ति समुहले प्रतिवेदन बुझाउन समय मागेको तीन महिना हुन लागेको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको समाचारमा जनाइएको छ ।
आजको कान्तिपुर र नागरिक दैनिकले सत्तारुढ दल नेकपाभित्र आन्तरिक द्वन्द्व चर्किएको विषयलाई मुख्य प्राथमिकतामा पारेका छन् । कान्तिपुरले 'पार्टीभित्र चर्काचर्की' शीर्षकमा मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले \नेकपामा एकता नटुंगिँदै विवाद' शीर्षकमा समाचार लेखेको छ ।
आजको नागरिक दैनिकले 'राजधानीको संरचना छिन्नभिन्न पारिँदै' शीर्षकमा मुख्य समाचार छापेको छ भने प्रदेश सरकार हवाई सेवा सञ्चालन गर्ने तयारीमा जुटेको पनि खबर लेखेको छ । कारोबार दैनिकले भने 'दशैँका लागि ४० हजार टिकट बुकिङ' शीर्षकमा मुख्य समाचार छापेको छ ।
खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?
आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ ।
कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ । सुन्दै पत्याउन गाह्रो । तर यो वास्तविकता हो ।
उक्त मन्त्रालयको संघीय मामिला शाखाद्वारा असोज २०७४ मा प्रकाशित ‘गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय’ पुस्तिका तपाईं पनि पल्टाउनुहोस् । त्यसमा नेपालको ७ सय ५३ वटै स्थानीय तहबारे पूर्ण जानकारी समेटिएको छ । त्यसमा हरेक स्थानीय तहका क्षेत्रफल, जनसंख्यालगायत तथ्यांक राखिएका छन्।
हामीले हरेक स्थानीय तहका क्षेत्रफल जोड्यौं । सबैको योगफल आयो– १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र । नेपालको क्षेत्रफल ती सबै स्थानीय तहका क्षेत्रफलको योग हो । यति ठूलो मात्रामा अपुग हुँदा निःसन्देह प्रश्न उठ्छ– बाँकी भूभाग खोइ त ?
अपत्यारिलो यो अवस्था देखिएपछि हामीले पुस्तकको आधिकारिकता परीक्षण गर्यौं । त्यो संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नै प्रकाशन गरेको पाइएको छ । उक्त पुस्तिकामा तत्कालीन उप–प्रधानमन्त्री एवं विभागीय मन्त्री विजयकुमार गच्छदारको शुभकामना मन्तव्य छापिएको छ ।
त्यसैगरी राज्यमन्त्री जनकराज चौधरी, सचिव दिनेशकुमार थपलिया र सहसचिव डा.हरि पौडेलले पनि आफ्ना शब्द राखेका छन् । उनीहरूको हस्ताक्षरसहित उपलब्ध यस परिचय पुस्तिाको आधिकारिकतामा अब शंकै रहेन।
नेकपामा एकता नटुंगिँदै विवाद
आजको नागरिक दैनिकमा प्रकाशित खबरअनुसार नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता माधवकुमार नेपालले शुक्रबार स्थायी समतिका सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला नेता नेपालले पार्टीभित्र रहेको गुटबन्दी बाहिर ल्याएका हुन्।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको चार महिना बित्दासमेत तल्ला तहको कमिटी एकीकरणमा विलम्ब भइरहेका बेला नेता नेपालसहितका नेताहरूले संस्थापन पक्षबाट पेलाइमा परेको गुनासो गरेका छन्। नेता नेपालले शुक्रबार सार्वजनिक रूपमै पार्टी एकता प्रक्रिया र प्रवृत्तिबारे मुख खोलेका हुन्।
आफू विदेश भ्रमणबाट फर्किएपछि प्रदेश पदाधिकारीको टुंगो लगाउने पूर्वसहमतिविपरीत दुई अध्यक्षसहित सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएपछि नेता नेपाल असन्तुष्ट छन्। पार्टीका महत्वपूर्ण निर्णय गर्ने अधिकार पार्टी स्थायी समितिलाई भए पनि त्यसविपरीत निर्णय हुन थालेको असन्तुष्ट पक्षले गुनासो गर्दै आएको छ।
शुक्रबार इन्द्रेणी फुडल्यान्डमा सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा अन्य स्थायी समिति सदस्यहरूको उपस्थितिमा नेता नेपालले निर्णय विधिसम्मत नभएको भन्दै असन्तुष्टिलाई लिखित रूपमै पार्टीमा लैजाने जनाएका थिए। नेता नेपाल पक्षले हाल भइरहेका पार्टीका निर्णय विधि र मापदण्डविपरीत दुई अध्यक्षको निर्णयअनुसार मात्र भइरहेको आरोप लगाउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४