काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दावी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफूलाई अघिल्लो पटक र अहिले पनि जालझेल र षडयन्त्रबाट हटाएको उल्लेख गर्दै फेरी असाधारण शक्तिका साथ मूल ढोकाबाट शक्तिमा आउने बताउएका हुन्। ओलीले आफूलाई कामै गरेर जनताले प्रधानमन्त्री बनाएको पनि दाबी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे किन उल्लेख नगरेको भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरेका छन्। एमसीसीबारे के गर्नु हुन्छ ? सरकारको साझा न्यूनतम कार्यक्रमा समावेश गर्न बिर्सिएको हो ? उनले एमसीसीबारे सरकार चुप लागेर बस्न नमिल्ने भन्दै जवाफ दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।
यस्तै ओलीले कालापानी फिर्ता ल्याउछु भन्न नसकेको भन्दै देउवा सरकारको आलोचना गरे। कालापानी लिपुलेकलाई समस्यामा राखेको भन्दै आपत्ति जनाएका उनले गठबन्धन सरकार लामो समय नटिक्नेसमे त दाबी गरे। उनले आफूले गरेका निर्णय धमाधर खारेज गरेकामा पनि आपत्ति जनाए। यस्तै ओलीले आफ्नै पार्टीका नेताहरु मन्त्रीका लागि कुदेको उल्लेख गर्दै मन्त्री बनाईदिन प्रधानमन्त्री देउवालाई व्यङ्यात्मक आग्रह समेत गरे।
ओलीले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप थुपारेको दावी गर्दै छिटो वितरण गर्न सरकारलाई दवाव समेत दिएका थिए। उनले प्रतिपक्षलाई गाली गरेर मात्रै नबस्न पनि सरकारलाई चेतावनी दिए।
अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष एक खर्ब ४२ अर्बले घाटामा रहेको बताउनुभएको छ। संघीय प्रतिनिधि सभा बैठकमा श्वेतपत्र जारी गर्दै २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा एक खर्ब ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६÷०७७ मा २ खर्ब १६ अर्ब पुगेको बताएका हुन्। उनले स्रोतसँग मेल नखाने गरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको पनि बताए। उनले बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको समेत आरोप समेत लगाए।
अर्थमन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने पनि घोषणा गरेका छन्। उनले प्रस्तुत अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड १९ महामारीको कारण सिर्जित चुनौति समेतको स्म्बोधन हुनेगरी सुधार गर्न छिट्टै प्रतिस्थापन विधेयक ल्याउने बताएका हुन्।
स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्रीको भनाइ छ। देशभर १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क पेश गर्दै अर्थमन्त्री शर्माले कोरोनाका कारण त्यसको मात्रामा वृद्धि भएकाले नीतिगत सुधार गरी गरिबी न्यूनीकरण गर्नु सरकारको प्राथमिकतामा रहेको बताए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भदौभित्र पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
जिल्ला सभापतिहरूको मंगलबार सम्पन्न भेलाले तोकिएको समयमा चौधौं महाधिवेशन सम्भव नरहेको भन्दै विशेष महाधिवेशन गर्ने निष्कर्ष निकालेको नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए। भेलाले तेह्रौं महाधिवेशनकै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको अवस्थामा भदौमै चौधौं महाधिवेशन सम्भव नभएको भेलाको निष्कर्ष छ। यसबाट आगामी फागुनमा सुरु हुने स्थानीय तहको निर्वाचनका लागि पनि सहयोग पुग्ने केसीले बताए। भेलामा क्रियाशील सदस्यता विवाद हुँदा तल्ला तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको विषयमा सभापतिहरुले नेतृत्वको आलोचना गरेका थिए।
राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका छन्।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाएका हुन्। उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए। नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको बताउँदै उनले ओली सरकार पटकपटक भ्रष्टाचारमा डुबेको दाबी गरे। उनले कोभिड १९ मा पनि अर्बौं रुपैयाँ भ्रष्टाचार गरेपछि भ्रष्टाचारका महानायक केपी ओलीलाई तह लगाउनका लागि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको उनको भनाइ छ।
नेपाली कांग्रेसका सांसद् रायमाझीले केपी शर्मा ओलीलाई भ्रष्टाचारी राजनेता भने आफू स्वीकार्न तयार रहेको बताए। कोभिड १९ का सामग्री खरिदमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको बताउँदै उनले त्यसमा संलग्न हुने भ्रष्टाचारीहरुलाई कारबाही गर्न संसदीय समिति बनाउन पनि आग्रह गरे।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणमा ३ हजार १९४ र ५ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा कोरोना पुष्टि भएको हो। मंगलबार थपिएका संक्रमितको संख्या जेठ २१ यताकै सबैभन्दा बढि हो। जेठ २० गते नेपालमा ५ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको थियो भने जेठ २१ गते ४ हजार ६ सय २४ जना संक्रमित थपिएका थिए। त्यसयता ओरालो लागेको संक्रमणदर फेरि ह्वात्तै बढेको हो।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
उता, काठमाडौं उपत्यकामा अत्यावश्यक कामबाहेक बेलुका ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने निर्णय भएको छ। आज बसेको उपत्यकाका ती प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ८ गतेसम्म निषेध आदेश थप गर्दै बलुका ८ बजेपछि अत्यावाश्यक बाहेकका सवारी चल्न नदिने निर्णय गरेको हो। औषधि पसलबाहेकका सबै पसल तथा व्यवसाय बेलुका ७ बजेपछि सञ्चालन गर्न नपाइने समेत प्रशासनले जारी गरेको आदेशमा भनिएको छ। बैठकले निषेध आदेश कडा बनाउने र अनुगमन गर्ने निर्णय गरेको छ।
परीक्षा सञ्चालन गर्दा २५ जनाभन्दा बढीलाई एकै कोठामा राख्न नपाइनेसमेत आदेशमा उल्लेख गरिएको छ। यो व्यवस्था साउन २८ गतेबाट भदौ ८ गतेसम्म लागू हुनेछ। कोरोना संक्रमण बढ्दै गएपछि निषेध आदेश कडा बनाउन लागिएको हो।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइनबाट खसी बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा दिन सरकारको ध्यानाकर्षण गराएको छ।
सभामुख सापकोटाले तुइनबाट खसेर दार्चुलाका युवा जयसिंह धामी बेपत्ता भएको प्रकरणमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका हुन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले सो घटनाको सत्यतथ्य पत्ता लगाइ विस्तृत विवरणसहितको जानकारी प्रतिनिधिसभामा छिट्टै दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।
संसदमा शुन्य समयमा बोल्ने सांसदहरुले जयसिंह धामी प्रकरणको यथार्थता बाहिर ल्याउन सरकारसँग माग गरेका थिए।
यस्तै राष्ट्रियसभाका सांसदहरुले पनि तुईन तर्ने क्रममा महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद दीपा गुरुङले महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराइन्। उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका धामीको घटना जघन्य अपराध भएको बताइन्।
त्यसैगरी सांसद नैनकला ओझाले कालापानी लिपुलेक, लिम्पियाधुराको भारततद्वारा मिचिएको जमिन छिटो भन्दा फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराइन्। राष्ट्रिय सभाको बैठकमा बोल्ने अरु सासद्हरुले समसामयीक विषयमा प्रश्न गरेका थिए। उनीहरुले सरकार सुस्त गतिमा अघि बढेको भन्दै आलोचना गरेका थिए।
कोरोना महामारीको जोखिम बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा “मास्क खै” र “नो हर्न” अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाडौं उपत्यकामा “मास्क खै” र “नो हर्न” अभियानलाई कडाइका साथ लागू गर्ने बताएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) जनक भट्टराईले अहिलेको कोरोना संक्रमणबाट बच्नको लागि मास्कको प्रयोग अनिवार्य भएकोले मास्कको प्रयोग बढाउन र अनिवार्य लगाउनुपर्ने चेतना फैलाउन प्लेकार्ड, तथा गाडीमा स्टीकर र ट्राफिक जवानको शरीरमा फित्ता लगाएर जागरुकता फैलाएको बताए।
एएपी भट्टराईले २०७४ सालमा ल्याइएको नो हर्न कार्यक्रमलाई पनि प्रचारमुखी बनाउन, निरन्तर्ता दिन र चेतना जगाउन कडाइका साथ लागि पर्ने बताए। उनले अनावश्यक ठाउँमा हर्न बजाउने ड्राइभरलाई कारबाहीको दायरमा ल्याउने समेत चेतावनी दिए।
यता, कोरोना संक्रमणको जोखिम बढेको भनिरहेको सरकारले सरकारी कार्यालयमा रहेको भीडालाई भने देखेको नदेख्यै गरिरहेको छ। सेवाग्राहीहरुले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन्।
मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको प्रतिक्रिया दिएका हुन। छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले सरकारले आफैंले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोना कालमा पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको गुनासो गरे। गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे।
सरकारले भौतिक दुरीको कुरा गरेपनि सेवा लिने बेलामा भिडको व्यवस्थापन समेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ। उनीहरुले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय समाचारतर्फ, अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता भए पनि अफगानिस्तानको साथमै रहने बताएका छन्। उनले सेना फिर्ता लिए पनि अफगानिस्तानमा आफ्ना विभिन्न कार्यक्रम रहेको र विकास निमार्णका कार्यक्रम र तीनको सुरक्षा अमेरिकाले नै लिने बताए। शीर्ष अमेरिकी कूटनीतिज्ञ ब्लिन्केनलाई अफगानिस्तानको बारेमा गरिएको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्। अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेसँगै अफगानिस्तानको अवस्था बिग्रिरहेको छ।तालिबानी समूहले अफगानिस्तानका धेरै शहरहरुमा आक्रमण गरि कब्जासमेत गरेको छ।