शनिबार, वैशाख १५, २०८१

पदम गिरी अर्थात् 'म्यान अफ दि इलेक्सन'

२०५९ माघ १९ को शाही कूको विरुद्धमा सबैभन्दा पहिलो पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दै पदम गिरीको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको थियो।
 |  बुधबार, माघ ४, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, माघ ४, २०७९

काठमाडौं- नेकपा एमालेका पदम गिरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन्। सोमबार मन्त्री नियुक्त भएका गिरीले सपथ ग्रहण गरेर कार्यभार पनि सम्हालिसकेका छन्।

triton college

कार्यभार सम्हालेर उनले दुई महत्वपूर्ण निर्णय गरे। सबैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने उनले पहिलो निर्णय गरेका छन्। अर्को निर्णय हो राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने।

दुवै निर्णय स्वीकृत गर्दै उनले गरिब, विपन्न नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने मुख्य चुनौती रहेकाले सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने बताए। उनले गाउँ र सहरमा एकै किसिमका सेवा उपलब्ध गराउने मापदण्ड सहयोगी बन्ने बताए। मन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने स्पष्ट पारे।

नवनियुक्त स्वास्थ्यमन्त्री गिरीले मंगलबार नै कान्ति बाल अस्पतालको अनुगमन गरे। अस्पतालका कार्यकारी निर्देशक डा. युवानिधि बसौलाका अनुसार मन्त्री गिरीले २५ शैय्याको आकस्मिक कक्ष, सघन उपचार कक्ष, बच्चाको क्यान्सर शैय्या, नवजात शिशुको एचडियु र कुरुवा घरको अनुगमन गरे।

अनुगमनका क्रममा मन्त्री गिरीले नवजात शिशुको मृत्युदर कसरी घटाउने भन्नेमा चासो राखेको अस्पतालका निर्देशक बसौलाले बताए नेपालमा अहिले प्रति एक हजारमा २१ जना बाल मृत्युदर हुने गरेको छ। सन् २०३० दिगो विकास लक्ष्यअनुसार बाल मृत्युदर १२ जनामा झार्ने लक्ष्य राखिएको छ।

corrent noodles
Metro Mart

कुरुवा घरमा बिरामीका कुरुवासँग उपचार र बस्ने सुविधाका बारेमा मन्त्री गिरीले कुरा गरेका थिए। मन्त्रीसँग अस्पतालन निर्देशकले जनशक्ति र उपकरण अभाव रहेको जानकारी गराएका थिए। मुलुकको एकमात्र बाल अस्पतालका रूपमा अस्पतालमा तीन सय ३० शैय्या सञ्चालनमा रहेको छ। 

दैनिक ६ सयभन्दा बढी बालबालिका उपचार हुने अस्पतालले एक हजार शैय्याको अति विशिष्टीकृत बाल अस्पताल बनाउने सरकारको योजना रहेको छ। 

को हुन् पदम गिरी? 
पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गिरी विद्यार्थी राजनीतिबाट जिल्ला हुँदै राष्ट्रिय राजनीतिमा आएका हुन्। २०४६ सालपछि गिरी तत्कालीन अखिल पाँचौंमा संगठित भएका थिए। विद्यालयको प्रारम्भिक कमिटी सचिव हुँदै अध्यक्ष भई नेतृत्व सुरु गरेका गिरी विद्यालय तहको पढाइ सकेर उच्च शिक्षा हासिल गर्न २०५० सालमा राजनीतिक महत्व बोकेको पृथ्वीनारायण क्याम्पस पोखरा झरेका थिए। उनले अनेरास्ववियू पर्वत-पोखरा सम्पर्क कमिटीको अध्यक्ष भई नेतृत्व गर्न सुरु गरे। २०५४ मा नेकपा एमाले दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टीको सक्रिय राजनीतिमा आवद्ध भए। 

त्यतिबेला कम्युनिष्टहरुका लागि निकै प्रतिकूल मानिने पर्वतको दुर्लुङ गाउँमा उनकै नेतृत्वमा स्थानीय निर्वाचन भएको थियो। त्यसपछि पुन: क्याम्पसमा विद्यार्थी राजनीतिलाई नै निरन्ततरता दिने सन्दर्भमा २०५५ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुन्छन् गिरी।

२०५७ मा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटी अध्यक्ष बनेका गिरी स्वतन्त्र विद्यार्थी युनियनको उपसमितिमा निर्वाचित भए। अनेरास्ववियू राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय सदस्य बनेका पदम गिरी २०५९ को स्ववियू निर्वाचनमा पुनः दोस्रो पटक उपसमितिमा निर्वाचित भए।  

२०५९ माघ १९ को शाही कूको विरुद्धमा सबैभन्दा पहिलो पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दै पदम गिरीको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको थियो। २०६२ सालको स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखराको सभापतिमा निर्वाचित गिरी अनेरास्ववियूको १९ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालयमा निर्वाचित भई स्ववियू परिचालन विभागको प्रमुख भएका थिए। 

गिरी २०६७ मा नेकपा एमाले पर्वत जिल्ला कमिटी सचिवालय सदस्य तथा २०७२ मा आठौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए। त्यस्तै २०७५ मा  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटी सदस्य भएका थिए। 

स्ववियू निर्वाचन होस् या संगठनभित्रका आन्तरिक निर्वाचन। सधैं उनी 'म्यान अफ दि इलेक्सन' भए। गिरी संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पर्वत-१ बाट निर्वाचित भएका थिए। २० वर्षदेखिको कांग्रेस विरासत भत्काउँदै उनले १३ हजारभन्दा बढी मतान्तरमा निर्वाचन जिते। उनको त्यो पहिलो संसदीय अनुभव थियो।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका हुन्।

प्रकाशित: Jan 18, 2023| 14:20 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...