सौराहा (चितवन)- दिनभरको घटनाक्रम एकतमास आँखामा घुमिरहेको थियो। मृत्युलाई पार गरेर आएपछि बल्ल जिन्दगीको बढी माया उनले महसुस गरेका थिए। पिठ्युमा गैंडाले हानेको दुखाइ भन्दा आफू बच्नका लागि गरेको प्रयत्न उनलाई सम्झिँदा भयंकर लागिरहेको थियो।
२०७४ सालको कुरा हो। राप्ती र नारायणी नदीमा आएको ठूलो बाढीले चितवन राष्ट्रिय निकुञ्जका गैंडा बगाएर छिमेकी राष्ट्र भारत पुर्याएको थियो। दुई देशको समझदारीमा गैंडा स्वदेश फर्काउन गएका निकुञ्जको टोलीको अग्रपंक्तिमा थिए वन्यजन्तु प्राविधिक तीर्थ लामा। तीर्थसहितको ४०-५० जनाको टोली १० वटा गैंडालाई आफ्नै बासस्थानमा फर्काउने मिसन बोकेर भारतको वाल्मिीकी टाइगर रिजर्भ पुगेका थिए। वन्यजन्तु प्राविधिकको रुपमा तीर्थको काम थियो डार्ट गर्ने (औषधियुक्त सुई प्रहार गरी लठ्याउने)।
भारतको वाल्मीकि टाइगर रिजर्भ (बिटिआर) को चुनभट्ट नामको ठूलो जंगलमा छैटौं गैंडालाई डार्ट गर्ने क्रममा तीर्थले जे भोगे त्यो उनको जिन्दगीको अविस्मरणीय पल नै हो। जंगलभित्र बाढीले खुट्टा गड्ने पाँगो माटोमा खाली खुट्टामा सञ्चारका लागि वाकीटाकीसँगै डार्टका लागि सुट गर्ने बन्दुक बोकेर बिटिआरका कर्मचारीसँगै उनी अगाडि बढ्दै थिए। दुई पाइला सरेर उनले डार्ट गर्ने सुरसार के कस्दै थिए, उनको आँखा सिधै गैंडासँग जुध्न पुग्यो। अन्य अगाडिका तीन जना रुख छेल परेर बसिसकेका थिए। उनीहरुलाई गैंडाले वास्ता पनि गरेको थिएन। तर तीर्थ गैंडाको ‘टार्गेट’मा परिसकेका थिए। भर्खर अर्धवयस्क आक्रामक गैंडाले जब टाउको मुनि जोत्दै कान ठाडो बनाएर आक्रमण गर्ने सुर कस्यो, तीर्थको होसहवास उड्यो।
अब यसले मार्ने भयो भनेर उनी पछाडि रहेको ठूलो सिमलको रुखतर्फ दौडिए। बयर र खयरको काँडैकाँडा र झाडीमा खाली खुट्टा भाग्दा उनको दिमागमा सिमलको रुखमा पुग्न पाए बाँच्छु भन्ने मात्र सोच थियो। जब उनी सिमलको रुखमा चढ्नलाई अंगालो मात्र के हालेका थिए, पिठ्युमा गैंडाको अगाडिको दाह्राले हान्ने क्रममा उनलाई थुतुनोले मात्रै लाग्यो। उत्तिनै खेर आफ्नो हातमा डार्टको लागि बोकेको बन्दुकले हान्ने सुरसार कस्दै गर्दा हात्तीको टोलीले उनलाई बचायो। उनलाई गैंडाले आक्रमण गर्न थालेपछि उनीसँगैको अर्को टोलीले छिटो हिँड्ने हात्तीको समूह ल्याएर धमाधम रुखहरु ढाल्न थालेपछि त्यो गैंडा त्यहाँबाट भाग्यो।
तीर्थले त्यो बेला न खयरको काँडाले घोचेको चाल पाए, न भाग्दाभाग्दै असिनपसिन भएको महसुस गरे। त्यो बेला उनको दिमागमा ज्यान बचाउनु बाहेक अर्को सोच केही आएन। मृत्युलाई पार गरेर आएको तीर्थ विस्तारामा पल्टँदा मात्रै दुखाइ र डर महसुस गर्दै थिए। सो घटनापछि उनी दुई दिनसम्म जंगलमा फर्कन सकेनन्। तेस्रो दिनमा मात्रै काममा फर्कन सकेको स्मरण गर्दै उनी भन्छन्, ‘त्यो बेला ज्यान कसरी जोगाउने भन्ने मात्रै ख्याल आयो। न काँडाले घोचेको थाहा पाएँ न दुखाइ नै महसुस भयो। पछि बल्ल कोठामा आएपछि पो डर लाग्यो। मृत्युलाई पार गरेर आएँछु भनेर खुशी पनि लाग्यो।’
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत प्राविधिक हुन् तीर्थ। विशेषत उनी हिंस्रक वन्यजन्तुको उद्धारमा खटिन्छन्। वन्यजन्तु उद्धारको क्रममा यस्ता कैयौं जोखिम मोलेको तीर्थ बताउँछन्। तीर्थ अहिले ४२ वर्षका भए। उनी वन्यजन्तु उद्धार र संरक्षणमा लागको दुई दशकभन्दा बढी भइसक्यो। जंगल र वन्यजन्तुसँग सामिप्यातासँगै उनको दैनिकी बितिरहेको हुन्छ। वर्षको ८-९ महिना उनी वन्यजन्तु प्राविधिकका रुपमा जंगलमै खटिएका हुन्छन्। विशेषगरी पछिल्लो समय मानव-वन्यजन्तु द्धन्द्ध बढ्दै जाँदा वन्यजन्तु प्राविधिकको जिम्मेवारी पनि थपिँदै गएको छ।
अहिले मानव वन्यजन्तु द्धन्द्वमा बाघले मान्छे खाएका घटना बढ्दै जाँदा डार्ट गरेर बाघ समात्नुपर्ने हुन्छ। बाघ आफैंमा लजालु जनावर भए पनि मानिसको लागि हिंस्रक जनावरकै रुपमा परिचित छ। डार्ट गर्नका लागि सहज भने छैन। बाघलाई डार्टको लागि आधा घण्टादेखि २२ दिनसम्मको अवधि लागेको उनी सुनाउँछन्। गैंडा, बाघजस्ता वन्यजन्तुलाई समात्नका लागि व्यवस्थापकीय पाटो पनि चुनौतीपूर्ण हुने उनी सुनाउँछन्। तीर्थले हालसम्म ३ सयभन्दा बढी जनावरको उद्धार गरिसकेका छन्। सबैभन्दा बढी बाघ, गैंडाको उद्धार गरेको उनी सुनाउँछन्।
‘बाघले मानवीय क्षति गर्यो र जनावरहरु मार्यो भन्दैमा समातेर खोरमा राख्न मनले मान्दैन। उ जंगलमै रमाउने जनावार हो। एउटा-दुइटा घटना घटाउँदैमा नरभक्षी भन्न पनि मिल्दैन। बाघको बासस्थानमा मान्छे पुग्दा नै धेरै क्षति भइरहेको देखिन्छ,’ उनी भन्छन्। वन्यजन्तुले बिना कारण मानिसमाथि आक्रमण नगर्ने उनी बताउँछन्। तीर्थको अनुभवमा वन्यजन्तुको बासस्थानमा मानिसको चाप बढेर उस्लाई डिस्टर्ब गर्दा, अकस्मात् जम्काभेट हुँदा, आमाले छाडेको अर्धवयस्कको अवस्थामा रहेको वन्यजन्तुले मानिसमाथि आक्रमण गर्ने गर्दछ। यस्तै बाघको हकमा बूढो भएर सिकार गर्न नस्क्दा पनि मान्छेमाथि आक्रमण गर्ने तीर्थ बताउँछन्।
सिकारदेखि संरक्षणसम्म पुस्तान्तरण
राजा महेन्द्रको पालामा तीर्थका हजुरबुबा राजदरबारको लागि महिनाको ४५ रुपैयाँ तलबमा जनावर सिकार गर्ने जागिर गर्थे। हजुरबुवाले सिकारको काम गरे पनि उनका बुवा भने संरक्षणमा लागे। पछि संरक्षणका मुद्दा उठ्न थालेपछि तीर्थका बुवा हर्कमान लामा र ठूलोबुवा विष्णुबहादुर लामा जनावर बचाउने कर्ममा लागे। राष्ट्रिय प्रकृति संरक्षण कोषमा वन्यजन्तु प्राविधिकको रुपमा काम गरेर उनीहरु अहिले ‘रिटायर्ड’ भइसकेका छन्। मुख्यत बुवाहरुकै पदचाप पछ्याउँदै तीर्थले पनि यही बाटो समाते। हैटौंडामा जन्मे पनि बुवाको जागिरको कारण तीर्थ निकुञ्जकै आसपास हुर्के-बढे।
बुवालाई पछ्याउँदै उनी कैंयौपटक जंगल पुगे, वन्यजन्तुको गन्ध चाल पाए। उनलाई जंगलको बासना र वन्यजन्तु चराचुरुंगीको आवाजले लोभ्याउँदै गयो। अन्तत उनी पनि संरक्षण र उद्धारको बाटो समात्दै एउटा सिद्धहस्त वन्यजन्तु प्राविधिकको रुपमा कहलिएका छन्। नेपालको पूर्वदेखि पश्चिम हुँदै भारतसम्म पनि उनी ‘डार्ट’को लागि पुगेका छन्। रुची र लगाव नै यहि क्षेत्र भएकाले वन र वन्यजन्तु तीर्थको जीवनका अभिन्न अंग बनेका छन्।