काठमाडौं- गृह मन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत खटिएका १९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन्। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले मंगलबार निर्देशन दिएको थियो।
निर्देशनअनुसार बिहीबार साँझ ५ बजेसम्म १९४ जना सुरक्षाकर्मी फिर्ता भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्। फिर्ता भएकामध्ये नेपाल प्रहरीका १०३ जना छन् भने सशस्त्र प्रहरी बलका ९१ जना।
फिर्ता भएका सुरक्षाकर्मी सबै केन्द्रका हुन्। जिल्लाबाट सबै अपडेट आइनसकेको मन्त्रालयले बताएको छ।