काठमाडौं– कांग्रेस नेता डा. शेखर कोइरालाले पाँचदलीय गठबन्धन टुट्नुमा पार्टी सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जिम्मेवार रहेको दाबी गरेका छन्।
बिहीबार विराटनगरस्थित कोइराला निवासमा स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा नेता कोइरालाले तत्कालीन सत्ता गठबन्धन लामो समयसम्म बने पनि सभापति देउवाको अदूरदर्शिता र माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्ति जिम्मेवार रहेको आरोप लगाएका हुन्।
उनले भने, ‘तत्कालीन सत्ता गठबन्धनले लामो समयसम्म यसलाई निरन्तरता दिने भनेर सहकार्य गरेको थियो। तर यसलाई टिकाउन सकिएन। यसमा पार्टी सभापति र माओवादी अध्यक्ष प्रचण्डजीको प्रधानमन्त्री पदप्रतिको आशक्ति मुख्य कारण बन्यो।’
चुनावपछि गठन हुने सरकारको नेतृत्व माओवादीलाई दिन सभापति देउवा र प्रचण्डबीच समझदारी बनेको भनिए लिखित सहमति भएको विषयबारे आफूलाई जानकारी नभएको नेता कोइरालाको धारणा छ।
प्रचण्ड एमालेतिर लहसिएर मात्रै नभई अरू विषय पनि गठबन्धन टुट्ने कारण रहेकाले विस्तारै पोल खुल्दै जाने कोइरालाले दाबी गरे। सरकारमा नजाँदैमा कांग्रेस खुम्चिने र कमजोर नहुने उनले बताए। संसद्मा सबैभन्दा धेरै सिट ल्याएको कांग्रेसले सडक र सदनमा जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका वहन गर्ने नेता कोइरालाको भनाइ छ।