काठमाडौं- सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो सातदलीय गठबन्धनको बैठक बस्ने भएको हो। बैठकमा शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन। राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ।
एमालेभित्र राष्ट्रपतिमा सुवास नेम्वाङसहितका नेताहरू आकांक्षी छन्। सभामुखमा छविलाल विश्वकर्मा, पृथ्वीसुब्वा गुरुङ, रघुवीर महासेठ र विद्या भट्टराई आकांक्षी छन्।
यस्तै सातवटा सरकार र प्रदेश प्रमुखको समेत टुंगो लगाउन बाँकी छ। चारवटा प्रदेशको नेतृत्व एमालेले लिने र दुईवटा माओवादी केन्द्रले तथा मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको छ। पुस २५ गते संसद बैठक बस्नुअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जनाएको छ।