काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले नीति अधिवेशन बोलाउनुपर्ने बताएका छन्।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै चुनाव समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पुस २२ मा केन्द्रीय समिति बैठक बस्ने र त्यहाँ नीति अधिवेशन बोलाउनुपर्नेबारे पनि छलफल हुने उनले बताए।
कांग्रेसले गत वर्ष मंसिरमा १४औं महाधिवेशन गर्दा नीति अधिवेशन गरेको थिएन, नेतृत्व मात्रै चयन गरिएको थियो।
कोइरालाले गठबन्धन टुट्नुमा माओवादीसँग वार्ता गर्ने नेतृत्वको कमजोरी रहेको बताए। ती छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई नेतृत्वमा रहनेहरूले खबरसमेत नदिएर कमजोरी गरेको उनको भनाइ छ।
कोइरालाले गठबन्धन टुट्नुमा नेतृत्वको कमजोरी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पदीय आशक्ति रहेको बताए।