पोखरा– देशको पूर्वदेखि पश्चिम कुनासम्मका आठ सहरमा सांगीतिक प्रस्तुति दिएर गृहमैदान आइपुगेको नेपथ्य ब्यान्डले सधैंझै न्यानो पोखरेली माया पाउन सफल भएको छ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको यसै मैदानमा अघिल्लो पटक ब्यान्ड उपस्थित हुँदा लगातारको झरीकै बीच पनि उल्लेख्य दर्शक पानीमा रुझेरै कन्सर्ट हेर्न आइपुगेका थिए। यसपालि बिहानैदेखि हिमाल देखिने गरी सफा अकास पाएको पोखराले ब्यान्डलाई झनै स्वागत गर्यो।
आफ्नो माटोमा आइपुग्दा प्रारम्भकै दिन सम्झँदै ब्यान्डले पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपी राख्नू’ गाएर सुनाएको थियो। नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले झन्डै ३३ वर्षअघि याङ्जाकोटमा रचना गरेको यो गीत ब्यान्डकै पहिलो सिर्जना थियो।
यसरी स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिर देखाइएको थियो। गीत अघि बढ्दै जाँदा ब्यान्डले बितेका ३२ वर्षमा गरेको यात्राका झलक आउने गरी तस्बिर संयोजन गरिएको थियो। दोस्रो प्रस्तुति ‘भेँडाको ऊनजस्तो’ लाङटाङतिरको संकलन थियो। अर्थात्, अब गुरुङ बस्तीबाट केही पूर्वतर्फ तामाङ क्षेत्रमा कार्यक्रमले प्रवेश गर्यो।
पोखराबाट उदाएको यो ब्यान्ड यतिन्जेल सिंगो नेपालकै साझा सम्पत्ति बनिसकेको छ। त्यसैले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट संकलन गरिएका भाकालाई रक धुनसँग जोडेर यसले नेपाली पहिचानको कोसेलीका रुपमा संसारलाई सुनाउँदै आएको छ।
तेस्रो गीत फेरि स्थापना कालतिरकै पुरानो ‘छेक्यो छेक्यो देउराली डाँडा’ थियो। यो झनै ब्यान्डलाई स्थापित गराउने सिर्जनाको रुपमा सबैले चिनेको गीत हो। ब्यान्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको शुक गुरुङ सिर्जित यो गीतमा पोखरेली दर्शक अझ रमाए।
त्यसपछि भने पोखरेलीसँग अमृतले साक्षात्कार गर्ने पालो आइपुग्यो। ‘बिहान झलमल्ल हिमाल देखेर म पोखराको मान्छेको धेरै दिनदेखिको न्यास्रो मेटियो’ अमृतले यसरी यस ठाउँसँगको आफ्नो सामिप्य प्रकट गर्नासाथ विशाल दर्शक खुसीले उत्तेजित भए।
उनले दर्शकका साथै ब्यान्डलाई प्रस्तुतिको मौका जुराइदिने मानव सेवा आश्रमलाई धन्यवाद दिए। त्यसपछि उनले आफ्नो थातथलो नछाड्न आह्वानका साथ गाउँ जाने र रोदीमा बसेर गाउने अनुरोध गरेः
‘खान्नँ म त लामपाते सुरती
लाऊँ कि नलाऊँ जुग जाने पिरती’
त्यसपछि नेपथ्यका पुरानै गीत ‘चरी म¥यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाए। यस गीतमा अमृतले ‘घर हाम्रो पोखरा’ भनेर गाइरहँदा दर्शकदीर्घामा पनि जताततै तन्नेरीहरु ‘घर हाम्रो पोखरा’ भनेर चिच्याइरहेको देखिन्थ्यो । ‘हाम्रो पोखरा त सुन्दर छँदै छ,’ अमृतले दर्शकलाई भने, ‘अन्यत्र पनि सुन्दर ठाउँले भरिएको यो देश घुम्ने मौका नछाडौं है।’
अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरीमा’
सडकमा आश्रित मुलुकभरका नागरिकको सेवामा खटिएको मानवसेवा आश्रमसँग मिलेरै नेपथ्यले यस पटकको देश दौडाहा गरेको हो। पोखराको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँच वटा ट्रक र दुई वटा बसमार्फत् बुधबार काठमाडौं हानिएको छ। नेपथ्यले आगामी १६ पुसमा काठमाडौंको भृकुटीमण्डपमा सांगीतिक प्रस्तुति पस्किएपछि एक महिने देशव्यापी संगीत दौडाहा समापन हुनेछ।