काठमाडौं– कांग्रेस संस्थापन इतर पक्षमा संसदीय दलको नेतामा जेलिएको धागो अन्ततः फुकेको छ। संस्थापन इतर पक्षबाट साझा उम्मेदवारका रूपमा गगन थापा सभापति शेरबहादुर देउवासँग भिड्ने भएका छन्।
दलको नेताका लागि आज दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्याइएको छ। यसअघि इतर पक्षबाट शेखर कोइराला र गगन थापाले आफ्नो आफ्नो दाबी कायम राखेपछि सहमति हुन सकेको थिएन।
गगनले डा. शेखर कोइरालालाई प्रस्तावक बनाउँदै संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराइसकेका छन्। उनको समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा छन्।
पटक–पटकको छलफलपछि मंगलबार लैनचौरको एक होटलमा बसेको शेखर कोइराला समूहको बैठकमा गगनलाई सभापति देउवासँग संसदीय दलको नेतामा भिडाउने समझदारी जुटेको हो। गगनलाई शेखरसहित उपसभापति गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारीलगायत नेताहरूको साथ छ।
कांग्रेसको १३औं महाधिवेशनमा देउवाका विश्वासपात्रका रूपमा रहेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा चुनावअघि नै गगनको पक्षमा खुलेका थिए। उनले त्यसबेला आफू गगनको प्रस्तावक बस्ने घोषणा गरेका थिए।
मंगलबार गगनलाई समर्थन गर्न शेखर तयार भइसकेपछि शर्मा हनुमानस्थानस्थित होटल बसेरामा बसेको इतर समूहको दोस्रो बैठकमा पुगेका थिए। शर्मा होटल पुगेलगत्तै बाहिर निस्किएर अर्जुननरसिंह केसीले उनको हात समातेर बैठक कक्षमा प्रवेश गराएका थिए। बैठक कक्षमा पुगेर शर्माले गगनलाई शुभकामना दिँदै आफ्नो पूर्ण साथ रहने बताए।
यसअघि आजै बिहान लाजिम्पाटस्थित होटल एम्बास्डरमा बसेको बैठकमा भने शर्मा सहभागी थिएनन्।