काठमाडौं– फुटबलको कुम्भमेला फिफा विश्वकप २०२२ समापनको संघारमा छ। २० नोभेम्बरमा सुरु भएको विश्वकपको फाइनल खेलमात्र हुन बाँकी छ अब। २०१८ को विजेता फ्रान्स र २०१४ को उपविजेता अर्जेन्टिना उपाधिका लागि भिड्ने तय भएको छ। विश्वभरका करोडौं फुटबलप्रेमी यो खेलको प्रतीक्षामा छन्। फाइनल खेल आइतबार राति पौने ९ बजे (नेपाली समयअनुसार) हुनेछ।
फिफा विश्वकप विश्वकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो। यसका दर्शक करोडमा होइन, अर्बको संख्यामा हुन्छन्। यो प्रतियोगिता हरेक ४ वर्षमा आयोजना हुन्छ। पछिल्लो विश्वकप सन् २०१८ मा रसियामा भएको थियो फिफाका अनुसार सो विश्वकप साढे ३ अर्ब दर्शकले हेरेका थिए टेलिभिजन र अन्य डिजिटल प्लाटफर्ममा। अर्थात् धर्तीका आधाभन्दा बढी मानिसले यो एउटा खेलकुद इभेन्ट हेरे।
कतारमा जारी यसपटकको विश्वकपमा दर्शक संख्याले रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको छ। यकिन संख्या फाइनल खेलपछि नै थाहा हुनेछ।
यति धेरै दर्शकले हेर्ने यति ठूलो इभेन्टमा आर्थिक कारोबार पनि ठूलै संख्यामा हुने नै भयो। फिफाको बिजनेस मोडल कस्तो छ? उसले कसरी र कति पैसा कमाउँछ अनि कहाँ खर्च गर्छ? विश्वभरका देश किन आफ्नो देशमा विश्वकप गराउन लागिपर्छन्? आउनुस्, केही तथ्य हेरौं।
फिफाको पूरा अर्थ हो– इन्टरनेसनल फेडेरेसन अफ एसोसिएसन फुटबल। फिफाको स्थापना सन् १९०४ मा फ्रान्समा भएको हो। फिफाका संस्थापक अध्यक्ष हुन् रबर्ट गोरेन। सात देश सदस्य भएर स्थापना भएको फिफामा अहिले १२१ टिम सदस्य छन्।
चाखलाग्दो कुरा के छ भने अर्बौं डलर कमाइ गर्ने फिफा गैरसकारी संस्था (एनजीओ) हो। फिफा स्थापनाको उद्देश्य हो– फुटबललाई विश्वभर प्रवर्धन गर्नु। फुटबलसँगै फिफाले सामाजिक परियोजना पनि सञ्चालन गर्छ– जस्तै एजुकेसन फर अल, सेभ द प्लानेट, प्रोटेक्ट चिल्ड्रेन। सामाजिक कामका लागि सन् २०१८ मा फिफा फाउन्डेसनको स्थापना भएको हो।
यति धेरै दर्शकले हेर्ने यति ठूलो इभेन्टमा आर्थिक कारोबार पनि ठूलै संख्यामा हुने नै भयो। फिफाको बिजनेस मोडल कस्तो छ? उसले कसरी र कति पैसा कमाउँछ अनि कहाँ खर्च गर्छ? विश्वभरका देश किन आफ्नो देशमा विश्वकप गराउन लागिपर्छन्?
आर्थिक हिसाबले हेर्ने हो भने फिफा चार वर्षको चक्र (साइकल) मा चल्छ। कारण– फिफाको सबैभन्दा ठूलो इमेन्ट विश्वकप फुटबल हरेक चार वर्षमा हुन्छ।
सन् २०१५ देखि २०१८ मा फिफाले ६.४ बिलियन डलर आम्दानी गर्यो। यसमा २०१८ को विश्वकप समावेश छ। कुल आम्दानीको ८३ प्रतिशत रसिया विश्वकपको कमाइ हो। २०१९ देखि २०२२ सम्मको हिसाबकिताब कतार विश्वकप सकिएपछि मात्रै आउनेछ। द विक पत्रिकाका अनुसार जारी कतार विश्वकपबाट फिफाले रेकर्ड ब्रेकिङ आम्दानी गरिसकेको छ। त्यो भनेको ७.५ बिलियन डलर हो। अर्को साइकल (२०२३–२६) मा यो रकम १० बिलियन डलर पुग्ने अनुमान छ।
फिफाको आम्दानी यसरी तीव्र रुपमा बढ्नुका दुई कारण छन्। पहिलो– महिला फुटबल। आगामी वर्ष अष्ट्रेलिया र न्युजिल्याण्डमा हुन लागेको महिला फुटबल विश्वकपका लागि फिफाले ठूलो रकमको स्पोन्सरसिप डिल गरेको छ। पछिल्लो समय महिला विश्वकप पपुलर बन्दै गएको छ। दोस्रो कारण हो– विश्वकपमा सहभागी टिमको संख्या बढ्नु। २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप अझै बृहत् हुनेछ। किनकी अब विश्वकपमा सहभागी टिमको संख्या ३२ होइन, ४८ हुनेछ। अर्थात् अब विश्वकपमा बढी म्याच हुनेछन्। म्याच बढी हुनेबित्तिकै बढी दर्शक अनि बढी आर्थिक कारोबार। फिफाको कुल आम्दानीमध्ये ९५ प्रतिशत विश्वकपबाटै हुने गर्छ।
हेरौं २०१८ रसिया विश्वकपको वासलात
फिफाले विश्वकपको ब्रोडकास्टिङ राइट्सबाट सबैभन्दा बढी कमाउँछ। पछिल्लो साइकल (२०१५–१८) मा भएको ६.४ बिलियन डलर आम्दानीमध्ये ३.१ बिलियन टिभी ब्रोडकास्टिङ राइट्स बिक्रीबाट भएको थियो। १४० भन्दा बढी देशमा विश्वकप देखाइन्छ। ब्रोडकास्टिङ राइट्सका लागि पनि ठूलै प्रतिस्पर्धा हुन्छ विश्वभरबाट। कतारमा भइरहेको विश्वकप प्रशारणका लागि नेपालमा मिडिया हबले ब्रोडकास्टिङ राइट्स पाएको छ। भारतीय कम्पनी भायाकमसँग मिडिया हबले २० करोड रुपैयाँमा सो अधिकार लिएको हो।
फिफाको आम्दानीको अर्को माध्यम हो– मार्केटिङ राइट्स। पछिल्लो विश्वकपको साइकलमा १.६६ बिलियन डलर यो शीर्षकबाट आम्दानी भएको छ। आफ्नो विज्ञापन विश्वकपका म्याचमा देखाउन ठूल्ठूला मल्टिनेसनल कम्पनीले फिफालाई पैसा दिन्छन्। यसमा सबैभन्दा अगाडि आउँछन् फिफाका पार्टनर कम्पनीहरु, जस्तै– एडिडास, कोकाकोला, वान्डा ग्रुप, हुन्डाई, किया, कतार एयरवेज, कतार इनर्जी, भिसा आदि। त्यसपछि आउँछन् विश्वकप स्पोन्सरहरु, जस्तै– म्याकडोनल्ड, भिभो, बडवाइजर, बाइजु आदि। त्यसपछि आउँछन् रिजनल सपोर्टर, जस्तै बोस, फिफाको अफिसियल टाइम किपर हब्लट आदि। यी सबै कम्पनीले फिफालाई पैसा दिन्छन् आफ्नो विज्ञापन देखाउन। फिफाको करिब २६ प्रतिशत आम्दानी यहाँबाट आउँछ। ब्रोडकास्टिङ र मार्केटिङ राइट्सबाट फिफाको आम्दानी करिब ७५ प्रतिशत हुन जान्छ।
फिफाले विश्वकपको ब्रोडकास्टिङ राइट्सबाट सबैभन्दा बढी कमाउँछ। पछिल्लो साइकल (२०१५–१८) मा भएको ६.४ बिलियन डलर आम्दानीमध्ये ३.१ बिलियन टिभी ब्रोडकास्टिङ राइट्स बिक्रीबाट भएको थियो।
आम्दानीको तेस्रो माध्यम हो टिकट बिक्री। पछिल्लो विश्वकपमा फिफाले म्याचका टिकट बेचेर ५६४ मिलियन डलर कमाएको थियो। जारी विश्वकपबाट हुने टिकटको आम्दानी अझै बढ्ने अनुमान छ।
यसबाहेक १४८ मिलियन हस्पिटालिटी तथा एकोमोडेसन राइट्सबाट आम्दानी भएको छ। चौथो माध्यम हो– फिफाको ब्रान्ड लाइसेन्सिङ राइट्स। कुनै पनि खेलमा फिफाको लोगो प्रयोग गरेबापत उसलाई पैसा तिर्नुपर्ने हुन्छ। यसबाहेक फिफा क्लब वर्ल्डकप, फिफा सदस्य तथा खेलाडीहरुलाई गरिने जरिवाना, घरजग्गा भाडा, म्युजियम, फिल्म तथा मिडियो राइट्स बिक्री आदिबाट पनि फिफाले पैसा कमाउँछ।
यो त भयो आम्दानी। अब कुरा गरौं खर्चको। यति धेरै कमाइ कहाँ खर्च गर्छ फिफाले? खर्चको कुरा पनि चाखलाग्दो नै छ। खासमा फिफाको कुनै खर्च छैन भन्दा पनि हुन्छ। विश्वकपको खर्च आयोजक मुलुकले नै बेहोर्छ। फिफाले कुनै कर तिर्नुपर्दैन किनकी यो एनजीओ हो।
फिफाको खर्च भनेको पुरस्कार मात्रै हो। जारी कतार विश्वकपका लागि कुल पुरस्कार रकम छ– ४४० मिलियन डलर। विजेता टिमले ४२ मिलियन डलर पुरस्कार पाउँछ। उपविजेताले ३० मिलियन र तेस्रो हुनेले २७ मिलियन डलर पाउँछ। चौथो स्थान हासिल गर्ने टिमले २५ मिलियन पाउँछ भने क्वार्टरफाइनलमा पुग्ने सबै टिमले १७–१७ मिलियन पाउँछन्। अन्तिम १६ सम्म पुग्नेले १३ मिलियन र समूह चरण पार गर्नेले ९ मिलियन पाउँछन्।
विश्वकप आयोजना गर्ने देशले कति खर्च गर्नुपर्छ?
फोर्ब्स पत्रिकाका अनुसार कतारले विश्वकपका लागि २०० बिलियन डलर खर्च गरेको छ। तर, यो आकडामा अन्य खर्च पनि आउँछ। जस्तो– कतारले विश्वकपकै लागि भनेर आधुनिक मेट्रो सिस्टम बनाएको छ, जुन पछि पनि प्रयोगमा आउनेछ। नयाँ विमानस्थल बनाइएको छ, नयाँ होटलहरु खुलेका छन्। कतिपय खर्च विश्वकपकै लागिमात्र भनेर गरिएको छैन। कतारले विश्वकपका खेल खेलाउन आठ वटा रंगशाला बनाएको छ। आठमध्ये सातवटा विश्वकपकै लागि भनेर बनाइएको हो। यी सात रंगशाला बनाउन ६.५ बिलियन डलर खर्च भएको छ। कतारले २०१० मै २०२२ को विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो। त्यतिबेला देखि नै उसले विश्वकप लक्षित पूर्वाधार निर्माण थालेको हो। अमेरिका, दक्षिण कोरिया, जापान, अष्ट्रेलियालगायत देशले यो विश्वकप आयोजनाका लागि बोलपत्र पेश गरेका थिए।
यति धेरै कमाइ कहाँ खर्च गर्छ फिफाले? खर्चको कुरा पनि चाखलाग्दो नै छ। खासमा फिफाको कुनै खर्च छैन भन्दा पनि हुन्छ। विश्वकपको खर्च आयोजक मुलुकले नै बेहोर्छ। फिफाले कुनै कर तिर्नुपर्दैन किनकी यो एनजीओ हो।
कतार विश्वकप विवादित पनि रह्यो। पहिलोपटक मध्यपूर्वको देशलाई विश्वकप आयोजना गर्न दिँदा भ्रष्टाचार भएको आरोप लागेको छ फिफालाई। कतारलाई विश्वकप आयोजना गर्न दिनका लागि फिफाका उच्च अधिकारीहरुले पैसा खाएको आरोप लागेको छ।
अर्को विवाद हो– आप्रवासी कामदारको। विश्वकपका पूर्वाधार बनाउन कतारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायत कैयौं देशबाट कामदार भित्र्यायो। ती कामदारको मानव अधिकार हनन् भएको, उनीहरुलाई जबरजस्ती काममा लगाइएको, महिनौंसम्म पारिश्रमिक नदिएको विषय विश्वभरका प्रतिष्ठित सञ्चारमाध्यमले उठाए। करिब साढे ६ हजार दक्षिण एसियाली मजदुरले २०१० देखि २०२२ को बीचमा दौरान ज्यान गुमाएको विवरणहरु सार्वजनिक भएका छन्।
दोस्रो विवाद हो– एलजीबीटीक्यु अधिकारको। यो समुदायको इन्द्रेणी झण्डा देखाउन प्रतिबन्ध लगाइएपछि कतारको विरोध भएको थियो। अल्कोहलको विषयमा पनि विवाद सिर्जना भएको थियो, जबकि बडवाइजर बियरले फिफासँग ७५ मिलियन डलरको डिल गरेको थियो जारी विश्वकपका लागि। रंगशालामा बडवाइजर बेच्न पाउनेगरी सो सहमति भएको थियो। तर, प्रतियोगिता सुरु हुनु दुई दिन अघिमात्र खेलका दौरान कुनै पनि किसिमको अल्कोहल बिक्री र सेवनमा प्रतिबन्ध लगाइयो।
अनेक विवादका बीच कतारले विश्वकप सफलतापूर्वक आयोजना गरेको छ। विश्वकप दौरान कतारमा १२ लाख पर्यटक भित्रिने र त्यहाँको अर्थतन्त्रमा १७ बिलियन डलरको योगदान पुग्ने अनुमान गरिएको छ। फिफाले त कुस्त कमाउँछ नै।