शनिबार, साउन ३, २०८२

खुल्यो नयाँ सरकार गठनको बाटो

आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ भने राजनीतिक तहमा भेटघाट र छलफल बाक्लिनेछन्।
 |  बिहीबार, मंसिर २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

vianetvianet

काठमाडौं– निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ। बिहीबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले राष्ट्रपति भण्डारीसमक्ष ४ मंसिरमा सम्पन्न निर्वाचनको मत परिणाम विवरण बुझाएका हुन्।

आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ। अब संसद्मा कुनै पनि दलको बहुमत नआएको अवस्थामा सरकार गठनका लागि राजनीतिक तहमा भेटघाट र छलफल बाक्लिनेछन्।

यसअघि आयोगले बुधबार निर्वाचनको सबै परिणाम घोषणा गरेको थियो। निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले ८९ सिट पाएको छ। एमालेले ७८ सिट, नेकपा माओवादी केन्द्रले ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १४ सिट, जनता समाजवादी पार्टी (जसपा)ले १२ सिट, नेकपा (एकीकृत समाजवादीले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ सिट जितेका छन्। २७५ सिट रहेको प्रतिनिधिसभामा कांग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दलको रूपमा उदाएको छ भने नयाँ शक्तिको रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ।

निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धरौटी जफत भएको छ। यस्तै, प्रदेशसभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य एक गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फको निर्वाचनमा एक सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख छ। प्रदेशसभातर्फ प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ। समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा एक सिट प्राप्त गरी सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) मतदान भएको थियो। यसमध्ये एक करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ। ५.०६ प्रतिशत मत बदर भएको छ। त्यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१.८५ प्रतिशत) मतदान भएकामा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको र ५.०९ प्रतिशत मत बदर भएको प्रमुख आयुक्त थपलियाले बताए।

प्रदेशतर्फ भने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१.३६ प्रतिशत) मतदान भएकामा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४.०७ प्रतिशत मत बदर भएको छ। प्रदेशसभाको समानुपातिकतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१.३१ प्रतिशत) मतदान भएकामा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६.५५ प्रतिशत मत बदर भएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ। त्यस्तै, प्रदेशसभातर्फ पुरुष ३५० जना (६३.६४ प्रतिशत)र महिला २०० जना (३६.३६ प्रतिशत) निर्वाचित भएको छ।

प्रकाशित: Dec 15, 2022| 14:26 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...