काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची विवरण सच्याउन दलहरुलाई समय तोकेको छ। समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई सच्याउनुपर्ने भए सच्याएर पुनः विवरण पठाउन सोमबार दिउँसो ४ बजेसम्मको समय दिएको हो।
प्रतिनिधिसभाअन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरण सच्याउनुपर्ने अवस्था भने नरहेको आयोगले जनाएको छ। केही राजनीतिक दलहरुले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउनका लागि पत्राचार गरिएको छ।
दलहरुबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने आयोगले जनाएको छ। १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेका छन्। सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली आयोगमा पेश गरेका छन्।