काठमाडौं- ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरी २ बाट प्रतिनिधिसभामा निर्वाचित जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) को यतिबेला राजनीतिक चर्चा चुलीमा पुगेको छ।
सत्ता गठबन्धनले बहुमतको सरकार निर्माणका लागि प्रतिनिधिसभामा कुल २७५ मध्ये १३८ सिट पुर्याउन नसकेपछि सीके राउत कांग्रेस, एमाले नेताहरूको तानातानीमा परेका छन्। निर्वाचित भएसँगै अध्यक्ष राउतको राजनीतिक व्यस्तता ह्वात्तै बढेको छ। राउतले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, गृहमन्त्री बालकृष्ण खाणलगायतका नेतासँग सत्ता विमर्श गरिरहेका छन्। राउतलाई मनाउन एमालेले पनि पहल गरिरहेको छ। त्यसका लागि एमाले नेता रघुवीर महासेठलाई पार्टी अध्यक्ष केपी ओलीले खटाइसकेको सुन्नमा आएको छ।
सोही कारण यतिबेला राउतलाई प्रधानमन्त्रीदेखि स्वतन्त्र रूपमा निर्वाचन जितेका उम्मेदवारलाई भेट्न भ्याईनभ्याई छ। कुनै बेला मधेसलाई छुट्टै देशको रूपमा स्थापित गर्नुपर्ने पक्षमा रहेका डा. राउत यतिबेला विखण्डनकारी मुद्दा छाडेर शान्तिपूर्ण राजनीतिमा सक्रिय छन्।
सप्तरी २ बाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरसहित पराजित गरेसँगै राउतको सञ्चार माध्ययमदेखि ठूला राजनीतिक दलसम्म माग बढेको छ। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जिते पनि सरकार गठनमा उनको भूमिकालाई महत्त्वपूर्ण रूपमा हेरिँदै छ। मधेस प्रदेशमा त उनी चर्चाको शिखरमा छन्।
मधेसमा लामो समयदेखि सत्ता राजनीतिका खेलाडी मानिँदै आएका जसपा अध्यक्ष यादवलाई निर्वाचनमा हराएर उदाएका राउत राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित हुन खोज्दै छन्। उनले राजधानी काठमाडौं आएलगत्तै राजनीतिक भेटघाट बाक्लो बनाएका छन् भने राजनीतिक दलका ‘डिमान्ड’मा परेका छन्।
चुनाव जितेपछि राउतले सबैभन्दा पहिलो भेट कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसँग गरेका थिए। १४ मंसिरमा भएको करिब एक घन्टा लामो छलफलमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो। निधिले राउतलाई वर्तमान सत्ता गठबन्धनमा सामेल भएर सरकारमा जान आग्रहसमेत गरेका थिए।
निधि निवास नयाँ बानेश्वरमा भएको भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठनलगायतका विषयमा कुराकानी भएको थियो। त्यसपछि राउतले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई समेत भेटे। प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष आग्रहमा भएको भेटमा खड्काले राउतसँग सरकार गठनका लागि सहयोग मागेको बताइन्छ।
खड्काले भेटेपछि राउतले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेरै भेटे। गत बिहीबार प्रधानमन्त्री देउवा र राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। प्रधानमन्त्रीसँग भएको भेटमा राउतले सत्तारुढ गठबन्धनमा सामेल हुने तर आफ्ना तीन वटा माग पूरा गर्नुपर्ने सर्त अगाडि राखे। नयाँ सरकार गठनमा राउतको अपरिहार्य भूमिका रहेकै ठानेर प्रधानमन्त्री देउवाले महत्त्व दिएको बताइन्छ।
बिहीबार साँझ नै गृहमन्त्री बालकृष्ण खाँणको सरकारी निवास पुल्चोकमा राउत र खाणबीच भेटवार्ता भयो। भेटमा समसामयिक राजनीति र विशेषगरी आगामी सरकारमा सामेल हुन खाणले राउतलाई मनाउने प्रयास गरे।
१५ मंसिरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राउतले भेट गरे। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान तथा आगामी दिनमा सहकार्य गर्नेबारे छलफल भएको प्रचण्डको सचिवालयले बताइसकेको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महत र अध्यक्ष राउतबीच गत आइतबार भेटवार्ता भयो। बाँसबारीस्थित प्रवक्ता महत महलमा भएको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो। उक्त भेटमा पनि प्रवक्ता महतले अब गठन हुने सरकारको नेतृत्व देउवाले गर्ने हुँदा सहयोग गर्न आग्रह गरेको बुझिएको छ।
राउतले १८ मंसिरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई उनकै निजी निवास गल्फुटारमा भेटे। खड्काले राउतलाई जितको शुभकामनासहित नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्न आग्रह गरे।
अध्यक्ष राउतले सांसद प्रभु साहलाई पनि भेटे। राउतसँगको भेटमा आगामी सरकार गठन र समसामयिक राजनीतिका विषयमा छलफल भएको साहले सामाजिक सन्जालमा उल्लेख गरेका छन्। साह एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन्।
राउतले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेट गरे। नेपाल निवास कोटेश्वरमा १९ मंसिरमा दुवै नेताबीच भेटवार्ता भएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष नेपाल र जनमत पार्टीका अध्यक्ष डा. राउतबीच पनि सरकार गठनका विषयमा भेटवार्ता भएको छ। कोटेश्वरमा प्रचण्ड र नेपालको भेटवार्ता भइरहेको क्रममा जनमत पार्टीका अध्यक्ष राउत त्यही पुगेका थिए। कोटेश्वर वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए।
यसले पनि के देखिन्छ भने राउतलाई वर्तमान सत्ता गठबन्धनले आफूमा ल्याउन ठूलो प्रयास गरिरहेको छ। तर राउत भने पर्ख र हेरको रणनीतिमा रहेको राजनीतिक वृत्तमा चर्चा छ।
राउत सत्ता समीकरणका तालाचाबी बन्न सक्ने अवस्था रहेको छ। वर्तमान समीकरणमा सहभागी हुने वा एमाले गठबन्धनतिर जाने भन्ने निर्णयमा राउत ढुलमुलकै अवस्थामा छन्।
यसबीचमा राउतले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई भेटे। १९ मंसिरमा भएको ० भेटमा अध्यक्ष राउत र नेता महतोबीचको के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन।
राउतले सोमबार नै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटे। भेटमा पछिल्लो राजनीतिक अवस्था र सरकार गठनका विषयमा छलफल भएको डा. भट्टराईले सामाजिक सन्जालमार्फत जानकारी दिए।
राउत अहिले गठबन्धन दलका निम्ति दरिलो साथी बन्न खोज्दै छन्। कुनै पनि दलको बहुमत पुग्ने स्थिति नहुँदा थ्रेसहोल्ड पार गरेका दलहरूलाई सरकारमा अटाउन सत्ता गठबन्धनले अन्तिम बल गरिरहेको छ। गठबन्धनको पहिलो विकल्पमा अध्यक्ष राउत रहेको पछिल्लो राजनीतिक दौडधुपले पुष्टि गरेको छ।