आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • संवाद
  • सरकार कांग्रेसकै नेतृत्वमा बन्छ, जनताको चाहनालाई केन्द्रमा राख्ने छौं : प्रकाशशरण महत [अन्तरवार्ता]

सरकार कांग्रेसकै नेतृत्वमा बन्छ, जनताको चाहनालाई केन्द्रमा राख्ने छौं : प्रकाशशरण महत [अन्तरवार्ता]

नयाँ पीढीको अपेक्षामा खरो उत्रिनुपर्ने देखियो। पार्टी, व्यक्तिको लाभहानीभन्दा माथि उठेर देश र जनताको लाभ हानीमा ध्यान केन्द्रित गर्नुपर्छ। उच्च कर्तव्यनिष्ठताका साथ रातदिन आफ्नो जिम्मेवारीप्रति पूर्ण जिम्मेवार भएर काम गर्नुपर्छ। त्यसपछि यो निराशाको माहौल हटेर हामीप्रति विश्वासको वातावरण बन्ने छ।
 |  शनिबार, मंसिर १०, २०७९
averest bankaverest bank

यज्ञराज जोशी

यज्ञराज जोशी

शनिबार, मंसिर १०, २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम आउने क्रममा छ। नतिजा लगभग अन्तिम चरणमा पुग्दै गर्दा प्रत्यक्षतर्फ नेपाली कांग्रेस ठूलो दल बन्ने देखिएको छ। दोस्रोमा नेकपा एमाले, तेस्रोमा नेकपा माओवादी केन्द्र, चौथोमा नेकपा एकीकृत समाजवादी र पाँचौंमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएका छन्। समानुपातिकतर्फ भने एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ। पाँच दलीय सत्ता गठबन्धनले देशका अधिकांश स्थानमा सहमतिमा उम्मेदवार उठाएको थियो। तर, सत्ता गठबन्धनको पक्षमा अपेक्षित परिणाम आउन सकेको देखिएन। बरु नवगठित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित रूपमा जित हासिल गरेको छ। यो परिणामसँगै ठूला राजनीतिक दलप्रति जनताको असन्तुष्टि बढेको चर्चासमेत हुनथालेको छ। मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सरकार कस्तो र कसको नेतृत्वमा बन्छ भन्ने विषयमा धेरैको चाँसो छ। सत्ता गठबन्धनले बहुमत पुर्‍याएको अवस्थामा प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति जुटाउन गाह्रो हुने देखिन्छ। ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक हुनेछ। अर्कोतिर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सार्वजनिक कार्यक्रमहरूमै प्रधानमन्त्रीमा आकांक्षा देखाएका छन्। कांग्रेसभित्रै पनि गगन थापा, प्रकाशमान सिंह, रामचन्द्र पौडेललगायत नेताहरूले प्रधानमन्त्रीको आकांक्षा देखाइरहेका छन्। यस्तो अवस्थामा कांग्रेसभित्रै पनि कसरी सहमति जुट्ला त यही विषयमा केन्द्रित रहेर नेपाल समयका लागि यज्ञराज जोशीले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग संवाद गरेका छन्।

sagarmatha cement

सत्ता गठबन्धनले अपेक्षित नतिजा ल्याउन नसकेको विश्लेषण भइरहेको छ, यसलाई कांग्रेसले कसरी लिएको छ?

हो, अपेक्षित परिणाम त आएन। तै पनि गठबन्धनको झिनो बहुमत हुन्छ। झिनो बहुमत भए पनि विश्वासका साथ अघि बढ्यौं भने सतर्क भएर चल्न मद्दत गर्ने मेरो बुझाइ छ। २०७४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीजीको ठूलो बहुमत थियो। उहाँले त्यसको दुरुपयोग गर्नुभयो। झिनो बहुमत हुँदा सबैले देश र जनताप्रति केन्द्रित भएर काम गर्नुपर्छ। अब हामी कसैलाई पनि गल्ती गर्ने छुट छैन। सबैले पार्टी, व्यक्तिभन्दा माथि उठेर जनता र देश नै ठूलो हो भन्ने किसिमले काम गर्नुपर्छ। 

अपेक्षित नतिजा नआउनुको कमजोरी के रह्यो भन्ने लागेको छ?

स्थापित दलहरूसँग सहरी युवा मतदाताको ठूलो अपेक्षा रह्यो। विकासको परिणाम छिटो आउनुपर्‍यो भन्ने मानसिकतामा युवा जमात छ। अन्य देशमा छिटो-छिटो परिणाम आउँछ। नेपालमा त्यो किन हुनसकिरहेको छैन भन्नेमा युवा छन्। उनीहरूमा कतै यिनै दलहरूका कारण नतिजा चाँडो आउन नसकेको त होइन भन्ने परेको छ। त्यो अधैर्यता हो। त्यसको दोष नेपाली कांग्रेसलेसमेत बेहोर्नु परेको छ। साढे तीन वर्ष ओलीजीको शासन कालमा निराशा छायो। उहाँसँग दुई तिहाइ थियो। काम गर्न चाहेको भए कसैले रोक्न सक्ने अवस्था थिएन। उहाँको आडम्बरले न दुई तिहाइको सरकार रह्यो, न आफ्नो पार्टीलाई नै एक ढिक्का बनाइराख्न सक्नु भयो। उल्टै संविधान मिचेर संसदमाथि प्रहार गर्नुभयो। त्यसपछि बनेको कांग्रेसको सरकारले एकै वर्षमा धेरै कुरा गर्न सक्ने अवस्था थिएन। त्यो पनि गठबन्धन थियो। सबै नेताहरूको सहमति बिना कुनै काम गर्न सक्ने अवस्था थिए। यही बीचमा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा थियो। विदेशी मुलुकसँगको कूटनीतिक सम्बन्ध बिग्रिएको अवस्था थियो। यी सबै कुरालाई एउटा लिकमा ल्याएर निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न नै हामी केन्द्रित भयौं। अब बन्ने गठबन्धनको सरकारले मुलुकमा विकासका काम गर्ने छ।

नयाँ पीढीको अपेक्षामा खरो उत्रिनुपर्ने देखियो। पार्टी, व्यक्तिको लाभहानीभन्दा माथि उठेर देश र जनताको लाभ हानिमा ध्यान केन्द्रित गर्नुपर्छ। उच्च कर्तव्यनिष्ठताका साथ रातदिन आफ्नो जिम्मेवारीप्रति पूर्ण जिम्मेवार भएर काम गर्नुपर्छ। त्यसपछि यो निराशाको माहौल हटेर हामीप्रति विश्वासको वातावरण बन्ने छ। 

ओलीजीको गल्तीको मूल्य नेपाली कांग्रेसले पनि चुकाउनुपर्‍यो। नयाँ पार्टीबाट को उठेको छ भन्ने थाहा नपाउँदा पनि जनताले मत हाले। त्यो वैकल्पिक पार्टीप्रतिको विश्वासभन्दा पनि स्थापित दलबाट जनताले गरेको बढी अपेक्षा पुरा नहुँदाको प्रतिफल हो। अर्को कुरा हामी बलियो रहेको ठाउँमा गठबन्धन हुँदा भागबन्डा गर्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसलाई कांग्रेसका मतदाताले सहज रूपमा नलिँदा पनि कतिपय ठाउँमा कांग्रेसको मत घटेको पाइयो। उम्मेदवार नभएको ठाउँमा मतदानको लागि जाने मतदाताको संख्या घटेकाले समानुपातिकमा संख्या घट्यो। पार्टीभित्र नै असहयोग र अन्तर्घात गर्ने प्रवृत्तिले गर्दा पनि कांग्रेसको मत घटेको छ।

यसबाट पाठ सिकेर ठूला राजनीतिक दलले अब कसरी अगाडि बढ्नुपर्ला भन्ने लाग्छ?

नयाँ पीढीको अपेक्षामा खरो उत्रिनुपर्ने देखियो। पार्टी, व्यक्तिको लाभहानीभन्दा माथि उठेर देश र जनताको लाभ हानिमा ध्यान केन्द्रित गर्नुपर्छ। उच्च कर्तव्यनिष्ठताका साथ रातदिन आफ्नो जिम्मेवारीप्रति पूर्ण जिम्मेवार भएर काम गर्नुपर्छ। त्यसपछि यो निराशाको माहौल हटेर हामीप्रति विश्वासको वातावरण बन्ने छ। यो विकल्प जुन आएको छ, त्यसको त कुनै स्पष्ट स्वरूप, विचार र सिद्धान्त नै छैन। यो ठूला राजनीतिक दलहरूलाई सच्चिन सन्देश दिनुपर्छ भन्ने जनताको प्रतिकात्मक सन्देश मात्रै हो। त्यसलाई हामीले मनन गर्नुपर्छ। हामी मनन् गर्छौं।

धेरै राजनीतिक शक्तिको उदयले फेरि देशमा अस्थिरता नै सिर्जना हुने भयो भन्ने जनताको चिन्ता छ नि?

दलहरूको संख्या बढ्दै जानु र मत तितरबितर हुनु पक्कै पनि राम्रो संकेत होइन। दुई/तीन राजनीतिक दलमा सीमित हुनुपर्ने अवस्था हो। विविध कारणबाट सिर्जित परिस्थितिले अहिलेको अवस्था सिर्जना भएको छ। फेरि पनि म भन्छु यसमा युवाहरूको तीव्र  र तत्काल नतिजा चाहियो भन्ने प्रवृत्ति नै हामी भएको देखियो। हाम्रो मुलुक कुन परिस्थितिबाट आएको हो र कसरी अगाडि बढिरहेको छ भन्ने कुरा युवाहरूले बुझेको देखिएन। हामी विभिन्न कठिन परिस्थितिलाई चिर्दै यहाँसम्म आइ पुगेका छौं।

ती कुराहरू तपाईंहरूले पनि त युवाहरूलाई बुझाउन सक्नु भएन?

हो, हामीले बुझाउन नसकेको कुरालाई नकार्न मिल्दैन। नयाँ शक्तिको सामाजिक सञ्जालमा ठूला राजनीतिक दलले मात्रै खराब गरे भन्ने खालको प्रचार थियो। देश विकास नभएको यिनकै कारणले हो भन्ने प्रचार गर्‍यो। त्यसको मनोवैज्ञानिक प्रभाव युवापङ्तिमा पर्‍यो। त्यसैले युवाहरूले देशको विगतको अवस्था र हामीले ल्याइपुर्‍याएको अहिलेको अवस्थालाई बुझ्न नसकेर भावनात्मक बहकाउमा लाग्नुभयो।

अब फेरि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्छ भन्नेमा यहाँहरू विश्वस्त हुनुहुन्छ?

गठबन्धनकै झिनो भए पनि बहुमत हुन्छ भन्ने मलाई लागेको छ। त्यसको स्वाभाविक नेतृत्व नेपाली कांग्रेसले नै गर्छ। किनकि सिट संख्यालाई हेर्दा पनि कांग्रेसले नै नेतृत्व गर्नेमा हामी विश्वस्त छौं। गठबन्धनका दलले यसलाई स्वाभाविकै लिनुहुनेछ भन्ने हामीलाई लागेको छ।

अनी पार्टीभित्र पनि धेरै आकांक्षी छन्, पार्टीभित्रको असन्तुष्टिलाई कसरी सम्बोधन गर्नुहुन्छ?

आकांक्षा राख्न पाउने सबैको अधिकार छ। यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो। निर्वाचित भएर आइसकेपछि मैले देशको नेतृत्व गर्छु भन्ने इच्छाशक्तिलाई स्वागत नै गर्नुपर्छ। त्यसका वावजुद पार्टीभित्र खासै ठूलो विवाद रहँदैन। हामी सबैलाई मिलाएर नै अघि बढ्ने छौं। अहिलेको आवश्यकता भनेको स्थिरता हो।

गठबन्धन सरकार बन्योभने त्यसका अबका प्राथमिकता के रहने छन्?

पहिलो कुरा लोकतन्त्रलाई जीवनपद्धति बनाएर लाने कुरा छ। संविधानमा आवश्यक सुधार, संशोधन र परिमार्जन गर्ने छौं। यही संविधानलाई नै आधार मानेर अघि बढ्ने हो। अहिले एउटा प्रवृत्ति विभिन्न रूप र रङ्गमा प्रकट भएको छ। संविधानमाथि नै प्रश्न गर्ने प्रवृत्ति हाबी भएको छ। २०४६ साल अघिको युग स्वर्ण थियो भन्ने किसिमले अपव्याख्या भइरहेको छ। पछिल्लो पीढीलाई त्यो बेलाको अवस्था थाहा छैन। युवाको सेन्टिमेन्ट बटुल्नका लागि झुटा कुरा गरेर भ्रम फैलाउँदै अस्थिरता सिर्जना गर्न खोज्ने तत्त्व हाबी हुँदै गएका छन्। त्यसैले यही संविधानमा टेकेर मुलुकमा स्थिरता दिने हो। नेपाली जनताको चाहना चाँडोभन्दा चाँडो नेपालमा समृद्धि हासिल होस् भन्ने छ। स्वदेशमै रोजगारी सिर्जना होस् भन्ने छ। हामीले यी सबै कुरालाई बुझेका छौं। तर, देशको अवस्थाले गर्दा हामीले चाहेर पनि कतिपय काम गर्न नसक्ने अवस्था थियो। अब  कानुनी शासनलाई अक्षरशः पालना गराउन हामी केन्द्रित हुने छौं। कुनै झन्झट बिना स्वदेशी, विदेशी लगानी गरेर उद्योग, कलकारखाना सञ्चालन विस्तार हुनुपर्छ। त्यसबाट व्यापक मात्रामा स्वदेशमा रोजगारी सिर्जना गर्न कांग्रेस केन्द्रित हुने छ। सुशासनसहितको समृद्धि र विकासमा हामी केन्द्रित हुने छौं। अब कांग्रेस नेतृत्वमा बन्ने गठबन्धन सरकारले जनताको चाहनालाई केन्द्रमा राखेर गम्भीरताका साथ अघि बढ्ने छ।

प्रकाशित: Nov 26, 2022| 10:13 शनिबार, मंसिर १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेपालमा अमेरिकी लगानी भारतविरुद्धका गतिविधिमा प्रयोग भइरहेको छ: डा. निहार आर नायक [अन्तर्वार्ता]

नेपालमा अमेरिकी लगानी भारतविरुद्धका गतिविधिमा प्रयोग भइरहेको छ: डा. निहार आर नायक [अन्तर्वार्ता]

नेपालमा अमेरिकी नीति भारत र अमेरिकाबीचको बलियो साझेदारीसँग केही हदसम्म भिन्‍न देखिन्छ।
इजरायलको घटनाले हामीलाई पाठ पनि सिकाएको छ: परराष्ट्रमन्त्री साउद [अन्तर्वार्ता]

इजरायलको घटनाले हामीलाई पाठ पनि सिकाएको छ: परराष्ट्रमन्त्री साउद [अन्तर्वार्ता]

विदेशमा हामीले कानुनी रूपमा र सुरक्षित रूपमा पठाएका नागरिकमाथि पनि सांघातिक आक्रमण भएको यस घटनाले हामीलाई पाठ सिकाएको छ।
वाणिज्य विभागका महानिर्देशक चिलुवाल भन्छन् - बदमासी गर्ने व्यवसायीलाई छाड्दैनौं [अन्तर्वार्ता]

वाणिज्य विभागका महानिर्देशक चिलुवाल भन्छन् - बदमासी गर्ने व्यवसायीलाई छाड्दैनौं [अन्तर्वार्ता]

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न हामीले हस्तक्षेपकारी भूमिका बढाएका छौं। उपभोक्ता संरक्षण ऐनबमोजिम कैफियत गर्ने व्यापारीलाई कारबाही गर्छौं।
वन्यजन्तुको संख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री महतो [अन्तर्वार्ता]

वन्यजन्तुको संख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री महतो [अन्तर्वार्ता]

मुलुकमा वन जंगलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको छ। वन्यजन्तुको संख्या पनि निकै बढेको छ। यसमा उचित व्यवस्थापन गर्न नसक्दा एकातिर मानव-वन्यजन्तु द्वन्द्व बढेको छ...