काठमाडौं-युनाइटेड अरब इमिरेट्स (युएईं) स्थित दुवईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार देखि शुरु भएको एसिया कप क्रिकेटमा बंगलादेशले विजयी शुरुवात गरेको छ । बंगलादेशले श्रीलंकालाई १ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
बंगलादेशले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३५.२ ओभरमा अलआउट हुँदै १ सय २४ रनमात्र बनाउन सकेपछि बंगलादेशले फराकिलो जित निकालेको हो । श्रीलंकाका लागि दिलरुवान परेराले २९ रन बनाए । उपल थारंगाले २७ रन जोडे । बंगलादेशका मुस्ताफिजुर रहमान, हसन मिराज र माश्रफ मोर्टाजाले समान २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ६१ रन जोडेको थियो । बंगलादेशका मुसाफिकर रहिमले शतकीय इनिङस खेले । रहिमले १५० बलमा १४४ रन जोडे । यस्तै मोहमद मिथुनले ६३ रनको अर्धशतकीय इनिङस खेले ।
श्रीलंकाका लाथिस मालिंगाले ४ विकेट लिए । धनन्जय डी सिल्भाले २ विकेट लिए । जितसंगै समूह ‘बी’ मा रहेको बंगलादेशले २ अंक जोडेको छ ।
एसिया कपमा आज समूह ‘ए’ को हङकङ र पाकिस्तानबीच खेल हुनेछ । खेल साँझ ५ः१५ बजेपछि दुवईमा शुरु हुनेछ । एसिया कपमा ६ राष्ट्रको सहभागिता छ । समूह ‘ए’ मा भारत, पाकिस्तानसँगै हङकङ रहँदा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४