काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरका कारण पनि प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर १ चर्चामा थियो। सत्ता गठबन्धनकी साझा उम्मेदवार मगरलाई गठबन्धनको दरिलो साथ हुँदाहुँदा पनि नेकपा एमालेका तारालामा तामाङले हराएका छन्। तामाङ २४ हजार ८९२ मतका साथ विजयी भए। ५ हजार ५४७ मतान्तरका साथ तामाङले मगरलाई पराजित गरेका हुन्। मगरले १९३४६ मत प्राप्त गरिन्।
नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यसमेत रहेकी बिनालाई २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण तामाङले सघाएका थिए। २०७४ मा तामाङले आफूलाई प्रदेशमा झारेर मगरलाई संघमा जिताएका थिए। २०७४ मा तामाङ क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा २० हजार १५ मत ल्याएर निर्वाचित भएका थिए ।
प्रदेश ७ का सांसद तथा प्रमुख सचेतकसमेत रहिसकेका तामाङ जिल्लामा स्वच्छ छवि भएका नेतामा चिनिन्छन्। कञ्चनुपर २ बाट २०७० को संविधानसभा सदस्य निर्वाचन लडेका तामाङले एनपी साउदसँग हारेका थिए ।
तामाङ नेकपा एमाले पार्टी चिरा परेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एसतिर लागेका थिए। उनी नेकपा एसबाट २०७८ मा सुदूरपश्चिम प्रदेशको आर्थिक तथा मामिलामन्त्री भएका थिए। मन्त्री हुँदा कञ्चनपुर १ को विकासमा ध्यान दिएकै कारण उनको जित सम्भव भएको स्थानीय बताउँछन्।
तर नेकपा एसले कञ्चनपुरको पूर्वपार्टी अध्यक्ष तामाङलाई मन्त्री पदबाट हटाइपछि समाजवादीसँग असन्तुष्ट भई १५ भदौमा एमाले प्रवेश गरेका थिए। नेकपा एस छोडेर पुरानै थलोमा फर्किएका तामाङले खेम सुवेदीलाई उछिनेर टिकट हात पारेका थिए।
नेकपा एमाले चिरा परेसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एसतिर लागेका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक तथा मामिलामन्त्री भएकै बेला पदबाट गलहत्याइए। पछि पुरानो घर एमाले फर्किनासाथ चुनावमा टिकट पाएर बिना मगरलाई हराए।
दुई गाउँपालिका र दुई नगरपालिका रहेको क्षेत्र १ भारतीय सीमासँग जोडिएको छ। दक्षिण बेल्टका नामले समेत चिनिने यो क्षेत्रको पुनर्वास नगरपालिका–३ (साविक कालिका गाविस) अरनीको बस्तीका स्थायी वासिन्दा तामाङ २०४७ मा अनेरास्ववियुको जिल्ला सदस्यमा आबद्ध हुँदै राजनीतिमा प्रवेश गरेका थिए।
२०५४ मा तत्कालीन कालिका गाविस अध्यक्षमा निर्वाचित भएपछि उनको राजनीतिक यात्रा फराकिलो भएको थियो। राजनीतिक आन्दोलनमा सरिक भएका तामाङले २०६६ मा कञ्चनपुरको जिल्ला सचिव र २०६९ मा एमाले कञ्चनपुर जिल्ला अध्यक्षसमेत भएका थिए।
तामाङ आफ्नो जित यो क्षेत्रको समग्र विकासका लागि समर्पित गर्ने बताउँछन्। उनले भने, ‘दुई नगरपालिका र दुई गाउँपालिकाका जनताले आफ्नो क्षेत्रका विकासका लागि मलाई विजयी गराए पनि यो उहाँहरूकै जित हो।’
‘यो क्षेत्रको सीमा समस्या, सुकम्बासी समस्या, बाढीको समस्या, रोजगारीको समस्यालाई संसदमा उठाउने छु । समाधानका लागि निरन्तर लड्ने छु’, तामाङले भने ।
स्थानीय राजनीतिकर्मी तामाङको जितले २८ वर्षपछि कञ्चनपुर १ मा एमाले फर्किएको बताउँछन्। २०५१ को मध्यावधि निर्वाचनमा ३ क्षेत्र कायम गरिएकामा ३ वटै क्षेत्रमा एमालेले जित हात पारेको थियो। त्यसपछिका निर्वाचनमा एमाले कमब्याक हुन सकेको थिएन। यो क्षेत्रमा २०४८, २०५६, २०७० गरी ३ पटक कांग्रेसले जितेको थियो। २०६४ मा नेकपा माओवादी र २०७४ मा वाम गठबन्धनबाट बिना संसद्मा पुगेका थिइन्।
२०७९ मा मगरको प्रतिस्पर्धी भएर चुनावी मैदानमा होमिएका तामाङ विजयी भए। यसपालिको निर्वाचनबाट कञ्चनपुरमा एमालेको साख जोगाउने विजेताका रूपमा पनि तामाङ देखापरेका छन्।