काठमाडौं– इतिहासकै सबैभन्दा सानदार जित। अर्कोतर्फ विश्वकपमा अहिलेसम्मकै ठूलो झट्का। मंगलबार दिउँसोको खेलले यही कुरा देखाएको थियो। आखिर फुटबल न हो, जे पनि हुनसक्छ। यो बराबरीबाट सुरु हुन्छ अनि ९० मिनेटभित्र जसले राम्रो खेल्छ जित उसकै। साउदी अरब र अर्जेन्टिनाको विश्वकप ओपनिङकै खेलको कुरा त हो। विश्व वरियताको ५१ औं स्थानको टिमले तेस्रो स्थानको टिमविरुद्ध जित निकाल्ने कुरा सायदै कसैले सोचेका थिए। तर सोचेजस्तै हुनुपर्छ भन्ने पनि त छैन। र, भएन पनि।
विश्वकप फुटबलमा एसिया सबैभन्दा पछि परेको महादेश हो। एसियाली टिमले जित निकाल्नु त परै जावस् बराबरी गर्न सके पनि धेरै ठूलै मानिन्छ। तर अरबी देशलाई गल्फमा भइरहेको पहिलो विश्वकपमा केहि त गर्ने थियो।
सुरुमै तीन गोल अफसाइड भएपछि अर्जेन्टिना निराश थियो। पहिलो हाफमा अरबी डिफेन्सले कमजोरी गरेकै हो। तर अफसाइडको नियमले सबै गोललाई नकाम बनाइदियो। अनि दोस्रो हाफमा दुई गोल गरेर साउदीले २–१ को जित निकाल्यो। त्यो खुसी मनाउनका लागि आज बुधबार सार्वजनिक विदा दिएको छ।
साउदीको योजना हेर्ने हो भने यो जित त उसको सुरुआच मात्र हो। उसले गत वर्ष सार्वजनिक गरेको रणनीति अनुरुप २०३४ सम्ममा विश्वको एलिट फुटबल वृत्तमा पर्ने चाहना छ। त्यो भनेको शीर्ष २० भित्र पर्नु हो।
यो जित साउदी फुटबलको इतिहासले गर्व गर्न लायक रहनेछ। साउदीको फुटबल इतिहासलाई केलाउने हो भने तीन दशकअघि जानुपर्छ। जब उसले एसियाली फुटबलमा राज गरिरहेको थियो। २० को दशकामा निकालेका तिनै जितहरुबाट पनि साउदी एसियाकै सबैभन्दा उत्कृष्ट टिम मानिन्छ।
१९५७ मा लेबनानसँँग १–१ को बराबरीबाट सुरु गरेको अन्तर्राष्ट्रिय फुटबलमा २०२२ मा अर्जेन्टिनासम्म आइपुग्दाखेरी उसले फुटबलमा धेरै कुरा गरिसकेको छ। लिमोर लिस्टलाई १०–० ले हराइसकेको छ भने युनाइटेड अरबसँग ०–१३ गोलको हार बेहोरिसकेको छ। यी साउदीको इतिहासमा सबैभन्दा ठूलो जित र हार हुन्।
अनि साउदीले त्यतिबेला विश्वकप खेल्न सुरु गरेको हो जतिबेला ऊ उच्च फर्ममा थियो– सन् १९९४। त्यसपछि उसले छ पटक विश्वकप खेलिसकेको छ। तर पहिलो पटक खेल्दा अन्तिम १६ मा पुगेको नतिजा नै साउदीका लागि अहिलेसम्मकै उत्कृष्ट बन्यो।
त्यो समय ताका सबै एसियाली देशहरु साउदीसँग डराउने स्थिति थियो। १९८४, १९८८ र १९९६ मा ऊ एसियाली च्याम्पियन भएको थियो। १९९८ र २००२ मा उसले अरब कप जितेको छ। त्यति मात्र होइन १९९४ र २००२ मा उसले गल्फ कप जितेको छ।
फिफाको प्रतियोगितामा फाइनलसम्म पुग्ने पहिलो एसियाली मुलुक पनि साउदी त हो। उसले १९९२ मा भएको फिफा कन्फेडेरेसन कपको फाइन खेलेको थियो। रोचक त के छ भने त्यो फाइनल खेलमा पनि उसले अर्जेन्टिनाको सामना गरेको थियो। र ३–१ को हार बेहोरेको थियो।
त्यो प्रतियोगिता कहिल्यै एसियाली देशले जितेनन्। तर जापना र अष्ट्रेलिया पछिका संस्करणमा फाइनलसम्म भने पुगे।
हुन त साउदीमा सन् १९५१ तिरै राष्ट्रिय टिम बनाउनु पर्छ भन्ने भावना विकास भएको हो। जतिबेला उसलाई इजिप्टियन स्वास्थ्य मन्त्रालयले मैत्रीपूर्ण खेल्नका लागि आह्वान गर्यो। त्यतिबेला साउदी ११ भन्ने अल वेहदा र अल अहिल क्लबका खेलाडीले भाग लिएका थिए।
त्यसको भोलिपल्ट यता अल इतिहाद र अल हिलालका खेलाडीहरु पनि समावेश भएको टोलीसँग इजिप्टविरुद्ध खेलेका थिए। त्यसपछि उसले बाँकी सहरका खेलाडी पनि बटुल्न थाल्यो। अगस्टमा साउदीले तेस्रो पटक फुटबल खेल्यो। त्यसपछि खेलि नै रह्यो। बल्ल १९५६ मा आएर साउदीले फुटबलको राष्ट्रिय संघको स्थापना गरेको हो।
संघको स्थापनापछि भए पनि साउदीले सन् १९५३ बाटै राष्ट्रिय छनोट गरेर फुटबल खेल्न भने सुरु गरिसकेको थियो। र, दोस्रो पान अरब खेलमा साउदीले पहिलो अन्तर्राष्ट्रिय खेल बराबरीबाट सुरु गर्यो।
तर उसले प्रतियोगितामा सहभागी बन्न भने लामै समय पर्खिनु पर्यो। संघ बनेको २८ वर्षपछि जब साउदी एएफसी एसियन कपमा छनोट भएको थियो। अनि मात्र उसले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो। छनोट भएपछि लगालग साउदी लगातार चारपटक फाइनल पुग्यो। र, दुई उपाधि जित्यो। सन् २००७ यता साउदीले सबै एसियन कप खेलिरहेकै छ।
त्यतिबेला साउदीको टिममा प्रशिक्षक जर्ज सोलारी थिए। जो अर्जेन्टिनी थिए। कन्फेडेरेसन कपमा अर्जेन्टिनासँग हारेको दुई वर्षपछिको कुरा हो। जब साउदी विश्वकपमा पहिलो पटक पुगेको थियो।
त्यतिबेला उसले समूह चरणमा बेल्जियम र मोरक्कोलाई हराएको थियो। तर अन्तिम १६ मा स्विडेनसँग ३–१ ले स्तब्ध भएपछि विश्वकपमा पूर्णविराम लाग्यो। त्यसपछि लगातार तीन विश्वकपमा छनोट भएको साउदीले समूह चरणमा जित निकाल्न सकेन। अन्तिम पटक ब्राजिलले जित्दा पनि ऊ समूह चरणबाट बाहिरिएको थियो लज्जास्पद नतिजाका साथ। त्यो लज्जास्पद नतिजा थियो– १२ गोल खाएर कुनै गोल गर्न नसक्नु। २००६ पछि १२ वर्षसम्म उसले विश्वकप नै खेलेन। एकैपटक रसिया विश्वकप खेलेको हो।
गल्फ देशहरुमा धनाढ्य र शक्तिशाली भनेर देखाउने परम्परा नै छ। इराक, इरान, कतार, यएई, साउदी अरेबिया आफूलाई शक्तिशाली देखाउन चाहन्छन्। यि कुरा त्यहाँको फुटबलमा पनि लागू हुन्छ। यद्यपि इरानी फुटबल साउदीको मुख्य प्रतिद्वन्दी हो। धार्मिक साम्प्रदायिकता र ऐतिहासिक दुश्मनीको कारण पनि यि दुई देश प्रतिद्वन्दी बन्ने गरेका छन्। इरानी तानाशाहको चरम यातनाबाट गुज्रिने गरेका खेलाडी साउदीका जहिल्यैका निकट प्रतिद्वन्दी हुने गरेको छ।
त्यसैगरि इराक पनि साउदीको राइभलका रुपमा नै लिइन्छ। गल्फ युद्धपछि यि दुई देशको फुसटबलमा पनि कोल्ड वार सुरु भएको हो।