धनगढी- बाजुराको त्रिवेणी नगरपालिकामा विवाद उत्कर्षमा पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ। गोली लागेर घाइते भएका अन्दाजी २५ वर्षका सञ्जीव ऐडीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए।
कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो। झडपमा सर्वसाधारण र प्रहरीसमेत घाइते भएको समाचार आए पनि पूर्ण विवरण नआएको सूचना अधिकारी रावलले बताए। झडपमा अन्य दुई जना घाइते भएका छन्।
कर्मचारीले समानुपातिक मत हाल्ने बेलामा झडप भएका कारण मतपेटिका र कर्मचारी भने सुरक्षित रहेको एसएसपी रावलले जानकारी दिए।