काठमाडौं-मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी माघमा ९ देखि १९ गतेसम्म हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएकोे हो ।
दशरथ रंगशालामा हुने प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै लिगको आधारमा खेल खेलाइनेछ । प्रतियोगितामा नेपालको रातो र निलो तथा चार विदेशी टिम गरि ६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा भुटान आउने पक्का भएको आयोजकले जनाएको छ । भुटानले यू-२३ टोलीलाई पठाउने छ ।
अन्य तीन विदेशी टोलीको तय नभएको एकेडमीले जनाएको छ । तर, एकेडमीले दक्षिण कोरिया, चीन, बंगलादेश, भारत र थाइल्याण्डलाई पत्राचार गरिसकेको जनाएको छ । लिगपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । विजेताले २५ हजार अमेरिकी डलर पाउनेछन् ।
स्तै दोस्रो हुनेलाई १० हजार अमेरिकी डलर प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई समान १-१ हजार अमेरिकी डलर दिइने आयोजकले जनाएको छ ।
यस्तै आयोजक एकेडमीले प्रतियोगितालाई मान्यता दिलाउन फिफा र एएफसीसंग पहल भईरहेको जनाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाबाट भने प्रतियोगिता स्वीकृत भईसकेको आयोजकले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४