काठमाडौं-नेपाल भलिबल संघको आयोजनामो २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो असोज २३ देखि २७ गते सम्म बाग्लुङमा आयोजना गर्ने भएको हो ।
संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बाग्लुङको गल्कोट नगरपालिकामा गराउने जानकारी गराएको हो । संघीय ढाँचामा हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । यससँगै संघको आयोजना, बाग्लुङ जिल्ला भलिबलसंघको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा प्रतियोगिता सञ्चालन गरिने संघले जनाएको छ । यससँगै संघको प्रतियोगिता आयोजनाको लागि बाग्लुङ जिल्ला भलिबल संघलाई ६ थान बल, १ थान नेट र १ लाख रुपैया हस्तान्तरण गरेको छ ।
संघले यो प्रतियोगिताबाट उत्कृष्ट २४ खेलाडी छनोट गरी राष्ट्रिय टिमको तयारीको लागि राखिने बताए । प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार प्रदान गरिनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४