मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा जुटेको आयोगको भनाइ छ।
विगतका तुलनामा यसपटकको निर्वाचन व्यवस्थापनमा आयोगका थुप्रै कमजोरी पनि सञ्चारमाध्यममा आएका छन्। मतदाता शिक्षा सामग्रीमा लापरबाही भएको, निर्वाचन प्रसारप्रसारमा अस्वभाविक कडाइ गरेको, सामाजिक सञ्जालमा कुनै उम्मेदवारलाई भोट नदिन गरिएको आग्रहमाथि गरिएको बन्देज र त्यसबाट पछि हटेकोलगायतका विवादास्पद गतिविधि पनि निर्वाचन आयोगले गरेको आरोप लागेको छ। यसै सन्दर्भमा आयोगका कमजोरी, सबल पक्ष, निर्वाचन सुरक्षा प्रणाली र मतदानको तयारीलगायतका विषयमा राससका नारायणप्रसाद न्यौपाने र प्रकाश सिलवालले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग गरेको कुराकानीको सम्पादित अंश:
मुलुक निर्वाचनको सम्मुखमा रहेकाबेला राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई के आह्वान गर्न चाहनुहुन्छ?
निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको र यही मङ्सिर १ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार रोकिइसकेको अवस्थामा सबै राजनीतिक दल, उम्मेदवार, मतदातासहित सबै सरोकारवाला मङ्सिर ४ गतेको मतदानको दिनलाई अर्जुनदृष्टि लगाएर बसिरहनुभएको छ। निर्वाचनमा निर्भिकतापूर्वक सबै मतदातालाई सहभागी हुन तथा राजनीतिक दल र उम्मेदवारले अहिलेसम्म अपनाउनुभएको संयमतालाई कायमै राखी साँच्ची नै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको आपसी साझेदारी, समन्वय सहकार्य र अन्तरसम्बन्धबाट आवश्यक छ, त्यही भएमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्भव छ भन्ने उदाहरण विश्वसमुदायलाई पनि प्रस्तुत गरिदिन म आग्रह गर्छु।
निर्वाचनको तयारीका हिसाबले अघिल्ला निर्वाचनको तुलनामा यसपटक अनुपम र उदाहरणीय काम के कस्ता भएका छन्?
अहिले हाम्रो ध्यानदृष्टि भनेको छ महिनाअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जे जस्ता समस्या भोगिएको थियो वा कमजोरी भएको थियो, त्यो यस निर्वाचनमा आउन हुँदैन भन्नेतर्फ छ। विगतका निर्वाचनमा भन्दा यसमा मतदाता नामावलीको शुद्धतादेखि छिटो मतपरिणाम दिने तयारीसम्ममा केही न केही नयाँपन र गुणात्मक फड्को मार्ने गरी काम गर्ने प्रयत्न गरिएको छ।
प्रकाशित: Nov 18, 2022| 01:58. 46 शुक्रबार, मंसिर २, २०७९