काठमाडौं– निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला मतदान केन्द्रमा उम्मेदवारका मात्रै प्रतिनिधि राख्ने निर्णय गरेको छ।
यसअघिका निर्वाचनमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो। प्रत्येक दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भीडभाड हुने भएपछि यस पटक उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरेको हो। आयोगको २९ कात्तिकको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन संशोधनसहित स्वीकृत निर्देशिका पारित गरेको थियो।
निर्देशिकाअनुसार प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचन प्रणालीबमोजिम उम्मेदवारको तर्फबाट मात्रै सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्था गरिएको छ।
आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा संशोधन गरेर निर्देशिका पठाएको छ। सोही निर्देशिका अनुसार मात्रै मतदान केन्द्रमा प्रतिनिधि राख्न मतदान अधिकृतलाई निर्देशन दिइसकेको आयोगका उपसचिव लक्ष्मी शर्माले बताए।
यो व्यवस्थाअनुसार मतदान केन्द्रमा सम्बन्धित प्रदेश र संघमा उम्मेदवार नभएको राजनीतिक दलका प्रतिनिधि बस्न पाउँदैनन्। सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र पेस गरेपछि मात्रै मतदान केन्द्रमा प्रतिनिधि बस्न पाउनेछन्।