भरतपुर- चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफू चक्रव्यूहमा परेकाले बचाउन आग्रह गरेका छन्। चितवन नारायणी किनारमा आयोजित अन्तिम चुनावी सभामा सम्बोधन गर्दै उनले मंसिर ४ मा घण्टी चिह्नमा मतदान गरेर त्यो चक्रव्युहबाट निकाल्न अनुरोध गरेका हुन्।
'अहिले म एउटा चक्रव्युहमा छु,' उनले भने, 'मलाई अभिमन्यूको नियतिबाट जोगाएर यो चक्रव्यूहबाट निकाल्न सक्ने चितवनवासी मात्रै हुनुहुन्छ।'
उनले आफूलाई पटक–पटक शंकाका तीर रोपिएको भन्दै उनले आफूले केही नबिराएको दाबी गरे। 'अब मलाई एउटै कुराको डर छ कि मलाई जिउँदो छु भन्ने प्रमाण मागिने छ,' नागरिकता विवादमा परेका उनले त्यसतर्फ संकेत गर्दै उनले भने, 'म जिउँदो रहेको सिफारिस माग्न म कुनै वडामा दस्तुर बुझाएको हुनेछु। अब मसँग आफ्नो लागि भन्नुपर्ने केही बाँकी छैन।'
अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अघि बढाए पनि नेपाली नागरिकता पुनः सक्रिय बनाउने प्रक्रिया पूरा नगरेका कारण उनी अहिले विवादमा छन्। उनले अवैध नागरिकता बुझाएर उम्मेदवार बनेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ।