काठमाडौंं- जापानका विदेश राज्यमन्त्री सुनसुके ताकेई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउने भएका छन्।मंसिर ४ मा हुने दुवै सभाका निर्वाचन पर्यवेक्षणका लागि मङ्सिर ४ गते नै उनी नेपाल आउन लागेको नेपालस्थित जापानी दूतावासले जानकारी दिएको हो।
नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो।
मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन्। 'नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ,' दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
दुईदिने नेपाल बसाइका क्रममा उनले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ।