शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रुपन्देहीमा कांग्रेस–एमाले नेताको चुनावी एजेन्डा : दाङ सरेको प्रदेश राजधानी बुटवल झार्छौं

रुपन्देहीमा कांग्रेस–एमाले नेताको चुनावी एजेन्डा : दाङ सरेको प्रदेश राजधानी बुटवल झार्छौं

लुम्बिनी प्रदेशको प्रदेशसभाले दाङको देउखुरी सारेको प्रदेश राजधानीलाई बुटवलमा ल्याउने प्रतिबद्धतासहित चुनावी मैदानमा मत माग्दै कांग्रेस नेता खाण र एमाले नेता पौडेल।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

रुपन्देही– लुम्बिनी प्रदेश मुकाम दाङको घोराहीलाई कायम गरिसकिएको छ। एमाले मुख्यमन्त्री रहेका बेला शंकर पोखरेलको प्रदेश सरकारले बुटवलमा रहेको लुम्बिनी  प्रदेशको राजधानीलाई दाङ सार्ने निर्णय गरिसकेको छ। तर रुपन्देहीमा यतिबेला दाङ सरेको राजधानीलाई बुटवलमै झार्नुपर्ने मतसहित कांग्रेस, एमाले नेताहरूको एउटै बोली सुनिँदै छ।

गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं एमाले नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता मतदातासमक्ष गरिरहेका छ।

रुपन्देहीमा चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका दुवै जना एकै स्वरमा भन्छन्,  ‘हामीले जिल्लाका सबै नागरिकका आवाज र धरणा बुझेका छौं। हिजो के भयो र किन भयो भन्ने विषयतिर अहिले जान चाहँदैनौं तर प्रदेशको राजधानी बुटवलमा फिर्ता गरिछाड्छौं।’

लुम्बिनी प्रदेशसभाले प्रदेशको राजधानी दाङको देउखुरी लैजाने निर्णय गरेको थियो। तर देउखुरीमा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार नभएको र प्रदेशका नागरिकलाई पायक पनि नपर्ने भन्दै बुटवलका नागरिकले विरोध गर्दै आएका छन्।

यतिखेर प्रदेश राजधानीको विषय रुपन्देहीका नागरिकको चुनावी एजेन्डाजस्तै बनेको छ। जिल्लाबासी भन्छन्, ‘प्रदेशको राजधानी लुम्बिनीबाट अन्यत्रै सारियो। जबकि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वका कम्तीमा पनि एक तिहाइ मानिसको आस्थाको केन्द्र हो। आर्थिक र औद्योगिक क्रियाकलाप  प्रदेशका अन्य भू–भागका तुलनामा यहीँ बढी छ। यहाँ अन्तर्राष्ट्रिय विमानस्थलसमेत छ। प्रदेशको राजधानी बुटवल नभएर अन्त कहाँ हुन्छ?’

स्थानीयका यी तर्कसँग जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधिसभाका उम्मेदवार खाण र पौडेल पूर्ण सहमत छन्। उनीहरू दुवैले यी तर्कसँग सहमति जनाउँदै जनताका जिज्ञासा मेटाउँदै भन्न थालेका छ, ‘लुम्बिनी प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुँदैन। हामी बुटवलमै ल्याउने प्रयत्नमा छौं।’

गृहमन्त्री खाण भन्छन्, ‘तत्कालीन सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सबै प्रदेशका अस्थायी राजधानी तोक्ने काम गर्‍यो। अरु प्रदेशमा तिनै राजधानी कायम भए तर यहाँ किन हुन सकेन? हुन त, यो प्रदेशसभाको अधिकार हो तर त्यस समय बुटवलको पूर्वाधार र महत्त्वमाथि किन विवेक पुर्‍याउन सकिएन? प्रदेश राजधानी राख्न बुटवलमा के कुराको कमी छ? यहाँबाट सारेर अन्यत्र लगियो।’

कोरोना महामारीमा मुलुक ठप्प भएका बेला हचुवाका भरमा यसअघि नै तोकिएको प्रदेश राजधानी यहाँबाट सार्ने काम भएको गृहमन्त्री खाणको भनाइ छ। रुपन्देहीको क्षेत्र–३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार गृहमन्त्री खाणसँग यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बिउको उपलब्धता, सुकुम्बासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका छन्। उनले आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रण मतदातासँग गरेका छन्।

एमाले नेता विष्णु पौडेल पनि प्रदेश राजधानीको मुद्दा बनाएका स्थानीयका जिज्ञासाको सुनुवाइ हुने विश्वास दिँदै प्रदेश राजधानी सधैंका लागि बुटवलबाट नसरेको बताउँछन्। प्रदेश राजधानी बुटवलमै राख्नुपर्ने रुपन्देहीका नागरिकको भावनासँगै आफू पनि रहेको स्पष्ट गर्दै उनले लुम्बिनीजस्तो सांस्कृतिक एवं ऐतिहासिक प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुन नसक्ने तर्क राख्छन्।  

पौडेल भन्छन्, ‘हुन त, यो प्रदेशसभाको अधिकार हो र त्यतिबेला निर्णय भयो। तर यो कुनै ढुंगले लेखिएको निर्णय होइन, चकले लेखिएको हो र त्यसलाई डस्टरले मेटेर अर्काे निर्णय लेख्न सकिन्छ। हामी सबै त्यसका लागि लाग्ने हो।’

रुपन्देहीलाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको, लगानी र विकासको मोडलको मुख्य गन्तव्य लुम्बिनी भइसकेकाले लुम्बिनी प्रदेशको राजधानी बुटबलबाहेक अन्यत्र हुन नसक्ने तर्क पौडेलको छ।

‘हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ। विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदै छौं भने प्रदेशको राजधानीको विकल्प पनि बुटवलबाहेक अन्यत्र कहाँ हुन सक्छ?’ पौडलेको प्रश्न छ।

उनी रुपन्देहीको क्षेत्र–२ बाट प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार हुन्। प्रदेश राजधानीबाहेकका उनीसँग भौतिक पूर्वाधार विकास, सुकुम्बासी समस्या समाधान, नागरिकका शिक्षा र स्वास्थ्यका समस्याको समाधानका साथै जनजीविकाको सुधारका माग छन्। 

उनले मतदातासँग जिल्लाको विकासमा लागिपरेको र आगामी दिनमा पनि यी सबै समस्याको समाधानका लागि जनताको साथमै रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूले जिल्लामा पूर्वाधार निर्माणका क्षेत्रमा धेरै काम गरेको र ती सबै जनताका अगाडि छर्लंग रहेकाले आगामी दिनमा जनताको जीवनस्तर उकास्ने र कृषि र किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउने योजना रहेकाले आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरे।–रासस

प्रकाशित: Nov 17, 2022| 14:07 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...