मंगलबार, असार ९, २०८३

पाल्पाली मतदाता भन्छन्- हाम्रालाई होइन राम्रालाई मत दिन्छौँ

विकास र समृद्धिको आशामा लगातार मतदान गरिरहेका मतदाता अहिले भने सक्षम र योग्य उम्मेदवार पहिचान गरी मतदान गर्ने बताउँछन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

पाल्पा- प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ। दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन्। मतदाता भने परिवर्तनको पक्षमा छन्।

National life

विकास र समृद्धिको आशामा लगातार मतदान गरिरहेका मतदाता अहिले भने सक्षम र योग्य उम्मेदवार पहिचान गरी मतदान गर्ने बताउँछन्। रामपुर नगरपालिका–१० धन्सारका ६४ वर्षीय ज्योतिलाल भण्डारी लगातार निर्वाचन जितेर सत्तामा पुगेका नेतृत्व गाउँ नफर्कदा विकासले बामे सर्न नसकेको बताउँछन्। पूर्वी पाल्पामा करिव तीन दशकसम्म एउटै राजनैतिक दलले नेतृत्व गर्ने अवसर मतदाताले दिए पनि जनमतको कदर नगरेको उनले गुनासो पोखे।

उनी भन्छन्, ‘जनताले विकास चाहने तर परिवर्तन हुन नखोज्ने, राजनीतिक दलको छायाँमा बसेर मत खसाल्ने गरेकाले नेतृत्वले मतको कदर र सम्मान नगरेका हुन्, गाउँठाउँको विकासको लागि हाम्रा व्यक्ति नभनौँ, राम्रा उम्मेदवार रोजौँ, निर्वाचनमा मतदान गरौँ।’

सामान्य आधारभूत आवश्यकता गाउँमा परिपूर्ति गर्न नसक्ने नेतृत्व चुनेर संसद्मा पठाउँदाको उपलब्धि जनताले नपाएको ज्योतिलाल बताउँछन्। संसद्मा प्रतिनिधित्व गर्ने यस क्षेत्रका नेतृत्वले जनता र गाउँको समस्या समाधानमा ध्यान नदिदा मतदाता विगतका नेतृत्वको कार्यशैलीप्रति सन्तुष्टि नरहेको उनले बताए।

निस्दी गाउँपालिका–६ धोबलाका ४९ वर्षीय उजिर सिं रानाले हाम्रो भनेर मतदान गर्दा गाउँ बन्न नसकेको बताए। अबको निर्वाचनमा गाउँका समस्या समाधान गर्ने, विकासप्रेमी, चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने उम्मेदवारलाई मतदान गर्ने उनी बताउँछन्।

Shivam cement

‘हाम्रा व्यक्ति भनेर मतदान गर्दा हामी जनताले विकासको अनुभूति गर्न पाइएन’, उनले भने, ‘गाउँमा राम्रोसँग बाह्रे महिना गाडी गुड्ने बाटो सुधार हुन सकेको छैन, लिटिफ्ङ खानेपानी योजना अधुरै छ, हामी जनता परिवर्तन हुन नसक्दा विकासले फड्को मार्न सकेन।’

गाउँका सडक पक्की, उत्पादित कृषिउपज बजारसम्म पुर्‍याउने व्यवस्था, गाउँमै शिक्षा, स्वास्थ्यको राम्रो सुविधा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने रानाले बताए। दलको प्रभावमा परेर मतदान गरेका ग्रामीण भेगका मतदाता वुद्धि विवेक प्रयोग गरेर मतदान गर्नुपर्ने बताउँछन्। लगातार हाम्रा व्यक्ति भनेर निर्वाचनमा मतदान गर्दा जनताको समस्याको सम्बोधन नभएकाले यस पटक अघिल्ला वर्षको निर्वाचनको तुलनामा मतदाता चनाखो बनेका छन्।

अर्काको दबाब र प्रलोभनमा मतदान गर्दा गाउँ बत्तिमुनिको अध्याँरोजस्तै भएको रामपुर नगरपालिका–१० जफदी बस्ने ७० वर्षीय नारायणप्रसाद भण्डारी गुनासो गर्छन्। उनले विकास हुने आशैमा विगतका निर्वाचनमा मतदान गरे। ‘जबसम्म हामी जनताले योग्य, सक्षम व्यक्ति पहिचान गरेर मतदान गर्दैनौँ तबसम्म विकासको आशा पलाउँदैन, यस पटक उम्मेदवारका योजना हेरी हाम्रा व्यक्ति नभनिकन कसैको प्रलोभनमा नपरी राम्रा व्यक्तिलाई मतदान गर्नेछौँ’, उनले भने।

यसभन्दा अघिका उम्मेदवारले जनताको मत जितेर सत्तामा पुगे पनि हामी जनताको मन जितेर काम गर्न नसकेको उनको दुखेसो छ। राजनीतिसँगै शिक्षाको विकास हुनुपर्ने र विदेशिएका युवालाई गाउँमै स्वरोजगार सिर्जना गर्ने खालका योजना ल्याउने उम्मेदवार पहिचान गरेर मतदान खसाल्ने उनको भनाइ छ।

गाउँका समस्या लिएर संसद्मा बोल्ने बलियो नेतृत्व नहुदा विकासले सम्भावना बोकेका क्षेत्र सधैँ पछाडि परिरहेको छ। अहिलेपनि दुईदेखि तीन घण्टाको पैदल हिँडेर खानेपानी बोकेर खानुपर्ने, पानी परेका कच्ची सडक बन्द हुँदा गन्तव्यसम्म पुग्न समस्या, छोराछोरीलाई उच्च शिक्षा पढाउन सहर बजारमै ऋण खोजेर पठाउनुपर्ने, स्वास्थ्योपचारमा ठूला ठूला शहर बजारकै अस्पतालमै पुग्नुपर्ने समस्याले यहाँका स्थानीय मुक्त हुन सकेका छैनन्।

पूर्वी पाल्पामा नेतृत्व राम्रो नहुँदा यो क्षेत्र जिल्लाकै हकमा सधैँ पछाडि नै पर्दछ। दुई दशक अगाडि खुलेको रामपुर आर्यभञ्ज्याङ सडक स्तरोन्नति हुन नसक्नु, विभिन्न पालिका जोड्ने सडक सुधार नहुनु, राम्रो स्वास्थ्योपचार गर्ने अस्पताल, गुणस्तरीय शैक्षिक संस्थाको अभावमा ग्रामीण बस्तीबाट सहर बजारमा कोठा भाडामा बस्ने बढ्दैछन्।

मतदाता शिक्षित बन्दै जाँदा नेतृत्व परिवर्तन गरी विकास ल्याउने उम्मेदवारलाई नेतृत्वमा पुर्‍याउनुपर्ने आवाज गाउँमा सुनिन्छन्। मतदाता आफैँले कुन उम्मेदवार सक्षम र योग्य छ भनेर वुद्धि विवेक प्रयोग गरेर मतदान गर्ने हो भने पाल्पामा मात्र नभई देशमै विकासको लहर आउनेछ। सक्षम र योग्य उम्मेदवार रोज्ने अधिकार स्वयम् मतदाता आफैँमा छ। अझै पनि यहाँका दुर्गम, विकट र कम शिक्षित व्यक्ति बस्ने गाउँका मतदाताले आफ्नो स्व–विवेकले मतदान गर्न पाउँदैनन्। त्यसकारण पनि उनीहरु सधैँ हरेक समस्यासँगै जीवन बिताउन बाध्य छन्।  -रासस

प्रकाशित: Nov 17, 2022| 14:01 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...