वीरगन्ज- पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जालिम मियाँविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। एमालेका उम्मेदवार मियाँले जातीय र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले बुधबार उजुरी दिएका हुन्।
पर्सा ४ मा नेकपा एमाले-जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा मियाँ र सोही क्षेत्रबाट कांग्रेसका रिजाल उम्मेदवार छन्। चुनावी सभाका क्रममा मधेसी पहाडीबीच साम्प्रदायिकता फैलाउने गरी अभिव्यक्ति दिएको भन्दै मियाँविरुद्ध उजुरी परेको हो।
रिजालले मियाँलाई कारबाहीको माग गर्दै निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय पर्सा र पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा इमेलमार्फत उजुरी पठाएका छन्।
पर्सा क्षेत्र नम्बर ४ मा पर्ने धोबिनी गाँउपालिका वडा नम्बर ५ जगरनाथपुर टोलमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले उम्मेदवार मियाँले निर्वाचनलाई प्रभावित पार्न पहाडी समुदायलाई गाली गलौज गर्दै निर्वाचन आचारसंहिता र कानुनको धज्जी उडाउनुका साथै मधेसी-पहाडी समुदायबीच द्वन्द्व भड्काउने काम गरेकाले मियाँविरुद्ध आवश्यक कारबाहीको माग रिजालले उजुरीमार्फत माग गरेका हुन्।
सामाजिक सद्भाव भड्काउने गरी दिएको अभिव्यक्तिको भिडियो क्लिपसहित आयोगमा लिखित उजुरी दिएको उनले बताए।