काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा मनाउन अपिल गरेका छन्।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्दै देउवाले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा मनाउन अपिल गरेका हुन्।
दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको भन्दै देउवाले सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको बताएका छन्।
देउवाको सन्देशको पूर्णपाठ :
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम चरणमा छौँ, लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्म हो, निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो, जहानीया राणा शासनको आन्दोलनले राजनीतिको चरण पार गिरिसकेको छ। अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने छ।
नेपाली काँग्रेस मुलुकमा भएका हरेक राजनीतिक, सामाजिक आन्दोलनको नेतृत्व गरेको राजनीतिक पार्टी हो, अब मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउनु पनि काँग्रेसको जिम्मेदारी हो। २०४६ सालपछि मुलुकले सामाजिक र आर्थिक विकासको एउटा बाटो लिएको छ तर पनि धेरै काम गर्न बाँकी छन्।
हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्टता हासिल गर्दैछन्। उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडि बढ्ने छौँ।
हाम्रो शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त र दुरुस्त पार्ने परिपाटीको विकास गर्ने छौँ, सीमान्तकृत समुदायको हक अधिकार प्राप्तिदेखि पिछडिएको क्षेत्र र समुदायको उत्थानमा नेपाली काँग्रेसको सरकारले महत्त्वपूर्ण काम गरेको छ। अझै परिणाम देखिने गरी अगाडि बढाइने छ।
निर्वाचनमा तपाईँहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ। दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै छ। सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको हो, त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन हामी प्रतिबद्ध छौँ।
मङ्सिर ४ गते हुने निर्वाचनमा उत्साहपूर्ण रूपमा सहभागी भई प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारका चुनाव चिह्नमा र समानुपातिकतर्फ नेपाली काँग्रेसको चुनाव चिह्न रूखमा आफ्नो अमूल्य मत दिनु होला भन्ने सबैमा अनुरोध गर्दछु।
‘हामी कुरा होइन काम गछौं’ भन्ने तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु। मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा लिन सबै मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु।