काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ।
गत शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचना व्यवस्था गर्न आग्रह गरिएको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले बताए।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। आयोगले प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिरहेको छ।