संखुवासभा- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालिएको छ। सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिको चारदेखि पाँच दिनसम्म लाग्छ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली खटाएको हो। पहिलो चरणमा भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योति आधारभूत विद्यालय रिदाकमा आज मतदान सामग्रीसहित मतदान अधिकृत पठाइएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए।
जिल्लाको निकै दुर्गम र विटक क्षेत्र किमाथाङ्का, रिदाक र थुदामसहित तीन मतदान केन्द्रका लागि मतपत्र र मतपेटीका कर्मचारी र सुरक्षकर्मी खटाइको छ। सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको मतदान केन्द्रमा पुग्न चार दिन लाग्ने भएकाले आजदेखि मतदान सामग्री पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए। भोटखोला गाउँपालिकामा पाँच वटा वडामा १० मतदान केन्द्र कायम गरिएको छ। भोटखोला गाउँपालिका हिमाली र अति विकट क्षेत्र भएका कारण पैदल हिँड्नुपर्छ।
भोटखोला गाउँपालिकासम्म पुग्न गाडी र पैदल हिँड्नुपर्ने भएकाले आवश्यक कपडासहित औषधि, खानपिनलगायत सामग्री बोक्नु निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिइएको थियो। भोटखोला क्षेत्रमा फोन समस्या हुन सक्ने र निर्वाचनको अवधिमा समस्या आए तत्काल कुनै माध्यमबाट भए सम्पर्क गर्न मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत गौतमले निर्देशन दिए। जिल्लामा दुई अस्थायीसहित एक सय ६४ मतदान केन्द्र रहेका छन्। सङ्खुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन्। प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ उम्मेदवार चुनावी मैदान छन्। जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ मतदाता रहेका छन्।