ढाका- बंगलादेशमा जारी १२ औं साफमा नेपाल र माल्दिभ्सबीचको पहिलो नकआउट चरणको खेल शुरु भएको छ। बंगबन्दु नेश्नल स्टेडियममा शुरु भएको खेलमा नेपाल माल्दिभ्सलाई पराजित गर्दै सेमीफाइनल पुग्ने दाउमा छ।
नेपालले आज (बुधबार)को खेलमा माल्दिभ्सलाई पराजित गरे २५ बर्ष अघिको इतिहास दोहर्याउने छ। आजको खेलमा नेपालको सुरुवाती ११ मा कुनै परिवर्तन गरिएको छैन्।
समूह ‘ए’ को विजेता बन्दै अगाडी बढेको नेपालले समूह ‘बी’ को उपविजेता माल्दिभ्सको सामना गर्न लागेको हो। नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानविरुद्ध २-१ को हार बेहोर्दै खराब सुरुवात गरेको थियो। तर दोस्रो खेलमा भुटानलाई ४-० ले पाखा लगाउँदै नेपाल सेमिफाइनल नजिक पुगेको थियो।
नेपालका लागि उक्त खेलमा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले गोल गरेका थिए । समूहको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गर्नैपर्ने अवस्थामा नेपाल २-० ले विजयी हुँदै समूह विजेता बन्न सफल रहयो।
नेपालका लागि विमल घर्ति मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए।
माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा सकिएका कारण दुवै टोली समान अंक र गोलमा रहे। प्रतियोगिताको नियमअनुसार टस गरेर समूह उपविजेता छान्ने निषकर्ष भयो । टसमा माल्दिभ्स भाग्यमानी बन्दै सेमिफाइनल यात्रा तय गर्न सफल रहयो। माल्दिभ्सले प्रतियोगितामा कुनै गोल गर्न सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४