काठमाडौं- काठमाडौं महानगरपालिकाले खेलकुदको विकासका लागि ए डिभिजन लिगका फुटबल क्लबलाई आर्थिक सहयोग गरेको छ। महानगरले काठमाडौँका ए डिभिजनका ६ ओटा क्लवलाई ९ लाख तीस हजार रुपैयाँका दरले अनुदान सहयोग गरेको हो।
राजधानीको राष्ट्रियसभा गृहमा सोमबार एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहयोग रकम हस्तान्तरण गरेका हुन्।
काठमाडौँका ए डिभिजन क्लवहरु हिमालयन शेर्पा क्लव, मनाङ-मर्स्याङ्दी क्लव, संकटा युवा क्लव, सरस्वती युवा क्लव, काठमाडौँ खेल मण्डल (नआरटी) मच्छिन्द्र युवा क्लवलाई मेयर शाक्यले नौ लाख तीन हजार रुपैयाँको चेक हस्तान्तर गरे।
हस्तान्तर कार्यक्रममा बोल्दै मेयर शाक्यले महानगरपालिको ध्यान विगतमा पूर्वाधार विकासमा मात्रै जाने गरेको भन्दै अब खेलको विकासमा पनि ध्यान दिन थालेको जानकारी दिए।
‘महानगरपालिकाले दिएको यो रकम निकै ठूला लगानी गरेका क्लवहरुका लागि सानो हुनसक्छ,’ शाक्यले भने, ‘तर, यो सहयोगले खेलाडीको मनोवल बढ्ने अपेक्षा गरेका छौँ।’
लिग चरणका खेलहरुमा ए डिभिजन लिगका टोली अग्रभागमा रहनु भन्दै मेयर शाक्यले शुभकामना दिए। ‘काठमाडौँ महानगरको मात्र होइन अब काठमाडौँबासीका आखाँ तपाईँहरुको क्लवबाट खेल्ने जर्सी र खेलाडीमा पर्नेछन्,’उनले भने, ‘फुटवल सबै भन्दा नियममा बाँधिएर खेल्ने खेल हो। हामी राजनीतिक खेलाडीले पनि तपाईँहरुबाट सिक्नुपर्छ। त्यसैले हामीलाई पनि उत्साहित बनाउने गरी र आगामी दिनमा यो अनुदान अझ थपौँ-थपौँ लाग्ने गरी खेल्नुहोला, शुभकामना छ।’
शाक्यले यो अनुदान शुरुवात मात्र भएको पनि बताए। आगामी दिनमा अनुदान थप्दै लैजाने उनले बताए।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको फुटवल क्षेत्रको विकासका लागि यो कोशेढुंगा भएको दाबी गरे। ‘मेरो जानकारी अनुसार स्थानीय सरकारले यसरी खेल क्षेत्रको विकासका लागि यस्तो उदाहरणीय सहयोग गरेको सायद यो नै पहिलो हो,’ उनले भने, ‘नेपालको फुटवलमा यो ऐतिहासिक दिन हो। स्थानीय सरकारले खेलक्षेत्रप्रति आफ्नो स्वामित्व लिएको छ। खुशी लाग्यो। नेपालको खेलकुद इतिहासमा सायद यो पहिलो हो, नमूना हो र स्वर्ण अक्षरले लेखिने काम हो ।’
उनले आगामी दिनमा वी र सी डिभिजनका क्वललाई पनि क्षमता विकासका लागि सहयोग गर्दै लैजाने सुझाव दिए। मनाङ-मर्स्याङ्दी क्लवका अध्यक्ष कान्छा मुखिया गुरुङले पनि स्थानीय सरकारले खेल क्षेत्रको विकासका लागि गरेको यो उदाहरणीय सहयोग भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४