पोखरा- परिवारका सदस्यले नखेल भन्थे। तर, मौसम राना मगरलाई बक्सिङ नखेली हुन्थेन। उनी परिवारको आँखा छल्थे। र, लुकेरै भए पनि आफ्नो चाहना पुरा गर्थे। त्यही चाहनाले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको ६३.५ केजी तौल समूहमा मौसमलाई स्वर्ण पदक दिलायो।
चार वर्षअघि बक्सिङ सुरु गर्दा मौसमको परिवारलाई थाहा दिएन। गुल्मीबाट उनको परिवार काठमाडौं बसाई सरेको छ। मौसमका बुवा रोजगारीका लागि विदेशमै धेरै हुन्छन्। मौसम चाहिँ ब्याचुलर पढ्दैछन्।
उनी पढ्दापढ्दै बक्सिङ खेलमा लागे। कक्षा १२ को परीक्षा सकेपछि के गर्ने भन्ने उनले भेउ पाएनन्। साथीसँगै बक्सिङमा जोडिए। ‘खाली समयमा फिटनेसको लागि विनय मगरसँग गएर मैले बक्सिङ जोइन गरेको हुँ। पछि उनी अस्ट्रेलिया गए। म चाहिँ बक्सिङमै रमाइरहेँ,’ उनले बक्सिङ सुरु गर्दाको क्षण सुनाए।
अभ्यास गर्दै गएपछि थाहा भयो कि यसमा धेरै जोस आउँदो रहेछ। अभ्यास मात्र गरेनन् २०१८ मा प्रतियोगिता पनि खेले। ‘नबिस प्रतियोगिता भएको थियो। यो चाहिँ प्रेसरका लागि हुन्छ। त्यहाँ नै मैले जित निकालेँ। यसरी मेरो सुरुआत गजबको भयो। पहिलो पटक प्रतिस्पर्धा गर्दा नै विजयी बनेको थिए। मैले पाँच खेल खेलेकोमा पाँचमै जित निकालेका थिए,' उनले सुनाए।
केही समयअघि मौसम बक्सिङमा क्यारियर खोज्दै दिए। त्यसै क्रममा राष्ट्रिय खेलकुदको आयोजना भएको थियो। मौसम जिल्ला र प्रदेश छनोटमा समावेश भए। जित्दै जित्दै गए।
अनि राष्ट्रिय खेलकुदमा
मौसमको यो पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हो। उनले डेब्युमै जित निकालेका छन्। त्यसो त उनी यहाँ गोल्ड जित्नैका लागि आएको बताउँछन्। ‘जित्छु भनेरै आएँ। अनि जितेँ,’ उनले भने।
उनको तौल समूहमा निकै बलिया बक्सर थिए। टप फाइटमा पनि उनले जिते। ‘राष्ट्रिय खेलकुदमा डेब्यू हो। प्रतियोगिताभर प्रतिस्पर्धी टप थिए। फाइनलमा आर्मी, जो सधैँ बिलायो हुन्छ। त्यसमा जित निकाल्नु मेरो लागि धेरै ठूलो कुरा हो। सिनियर दाइलाई हराएर आएको छु। त्यसले मलाई खुसी दिलाएको छ,’ जितपछि उनले नेपाल समयसँग खुसी साटे।
त्यसो त उनै तौल समूहमा भूपेन्द्र थापा मगर सबैभन्दा बलिया प्रतिद्वन्द्वी थिए। भूपेन्द्रले चाहिँ डेंगु लागेपछि खेल्नै पाएनन्। एपीएफको सोनाम र आर्मीका लगभग सबै प्रतिद्वन्द्वीलाई मौसमले पराजित गरे।
केही समयअघि मौसम बक्सिङमा क्यारियर खोज्दै दिए। त्यसै क्रममा राष्ट्रिय खेलकुदको आयोजना भएको थियो। मौसम जिल्ला र प्रदेश छनोटमा समावेश भए। जित्दै जित्दै गए।
सुरुमा त खेलकुद नै जेठमा हुने भनिएको थियो। त्यसैले बागमतीको छनोट अघि नै भयो खेलकुद सरेपछि अर्को छनोट भयो। दुवै छनोटमा मौसम विजयी भएका थिए। ‘राष्ट्रिय खेलकुद सरेपछि पुनः छनोट खेल्नुपर्यो। त्यसमा पनि जित निकालेको हो। अनि बन्द प्रशिक्षणमा परेको हो,’ राष्ट्रिय खेलकुदको डेब्यू प्रतियोगितामा उनको यात्रा यस्तो छ, ‘बन्द प्रशिक्षण चाहिँ राखिहालेको हो। बन्द प्रशिक्षण जान आउन टाढा भयो। बिहान बेलुका दुई पटक अभ्यास हुँदा गाह्रो भयो। एक समय भएको भए ठिकै हो दुई पटक भएर केही अप्ठ्यारो पर्यो।’
बसाई र अभ्यासस्थल टाढा भएपछि उनलाई धेरै थकाइ लाग्थ्यो। प्रायः बक्समाण्डुमा अभ्यास गरेपछि चाहिँ सातदोबाटो र रंशालामा अभ्यास भयो। बन्द प्रशिक्षणमा पनि उनले सहजै अभ्यास गर्न पाएनन्। छनोटअघि नै उनलाई चोट लागेको थियो। रिकभर भएकै थिएन।
बन्द प्रशिक्षणमा उनको नाकबाट रगत आइरहेको थियो। अभ्यासमा हुने फाइटले त्यसलाई झन् बल्झाउँथ्यो। त्यसले धेरै पीडा दिन्थ्यो। अभ्यासमा लागेको चोट रिकभर भइरहेको थिएन। भाग्यवस् एक हप्ता त भयो ठिक भयो, उनले खेल्न पाए अनि जिते।
‘बागमती खेलकुदमा पनि मैले उपाधि जितेको हो। अनि गणेशमान बक्सिङमा चाहिँ मैले सिल्भर मेडल जितेको थिएँ। त्यस्तै हो अहिलेसम्मको प्रतियोगिता,’ उनी गोल्ड मेडल देखाउँदै भन्छन्।
बक्सिनको मजा आउने भनेको रिङमा दुई जना हुँदा बाहिरबाट आवाज आइरहँदा उनलाई उधुमै रमाइलो लाग्छ। फाइनल खेलमा पनि गण्डकीको दर्शकले मौसमलाई धेरै समर्थन गरे।
बन्द प्रशिक्षण पनि अरू प्रदेशको तुलनामा राम्रो भएको उनले तुलना गरेका छन्। बागमतीको प्रशिक्षक र संघसँग म आभारी छन् उनी। भन्छन्, ‘लाला गुरु, सञ्जीव दाइलगायत सबैको सहयोग सम्झिरहेको छु। अनि मेरो परिवारले दिएको साथ पनि सम्झिन्छु।’
अन्तिम खेलमा प्रशिक्षकले दिएको हौसला चाहिँ अमूल्य रहेको उनी बताउँछन्। त्यो र पोखरा रंगशालाको सेमीकभर्डहलमा फाइनल दिनमा अघिल्ला खेलहरू लगातार आर्मीले जितिरहेको थियो। माहौल नै आर्मीको जस्तो देखिन्थ्यो। ‘यद्यपि मैले त्यो मोमेन्टलाई सम्हालेर खेलेँ,’ उनी हाँस्दै भन्छन्, ‘सबै आर्मीले जितेर पाउँछ। आज आर्मीको दिन मात्र थिएन मेरो पनि थियो।’
घरमा नभनी बक्सिङमा
बुवा विदेशमा, जेठो छोरोका रूपमा घरको सहारा हुन मौसम। बक्सिङमा धेरै क्यारियर नभएको उनलाई पनि थाहा छ घरका आमाबावुलाई पनि। त्यसैले सुरुमा उनले घरमा भन्ने आँटै गरेनन्।
‘म घरमा नभनीकनै गइदिन्थेँ। बक्सिङ मात्र गरेर जीवन चल्दैन। घरमा नखेल भन्नुहुन्थ्यो। अनि म ब्याचुलर पनि पढिरहेको छु। ब्याचुलर पढुन्जेल खेल्छु भनेको छु भनेर घरमा सम्झाएको थिए,’ उनले मुस्कुराउँदै भने।
पब्लिक यूथ कलेजमा बिटीटी सातौं सेमेस्टरमा पढिरहेका मौसम राष्ट्रिय च्याम्पियन पनि भएँ। उनलाई लाग्छ अब परिवारलाई त्यसरी सम्झाउनु पर्दैन होला।
‘सुरुमा त घरमा नभने पनि खेल्न गयो भनेर थाहा पाइहाल्नुहुन्थ्यो,’ उनी लुक्न नसक्नेको खुलाउँछन्। खेलेर, चोट लागेर दुखिरहेको बेलामा चाहिँ बक्सिङ छोडौं भन्ने लाग्दैन? जवाफमा उनी भन्छन्, ‘लाग्दैन। हातले हान्न पाइरहेको हुन्छ मजा आउँछ।’
बक्सिनको मजा आउने भनेको रिङमा दुई जना हुँदा बाहिरबाट आवाज आइरहँदा उनलाई उधुमै रमाइलो लाग्छ। फाइनल खेलमा पनि गण्डकीको दर्शकले मौसमलाई धेरै समर्थन गरे। उनको हरेक पञ्जमा सेमिकभर्डहल गुञ्जायमान भएको थियो।
यसरी जितेको गोल्ड उनी परिवारलाई समर्पण गर्न चाहन्छन्। ‘परिवारमा आमा बाबा र भाइ छन्। बुवा विदेशमा हुनुहुन्थ्यो। अहिले घरमा हुनुहुन्छ। यो मेडल म उहाँहरूमा समर्पण गर्न चाहन्छु,’ उनले भने।