काठमाडौं- नेपालले समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशमाथि जित्नै पर्ने दबाब परेको छ। बंगलादेशमा जारी १२ औं सुजुकी साफ च्याम्पियनसिपको समूह चरण पार गर्न नेपाललाई आफ्नो अन्तिम खेल जित्नै पर्ने दबाब परेको हो।
शनिबार नै भएको खेलमा पाकिस्तानले भुटानमाथि ३-० को फराकिलो जित निकालेसँगै नेपाललाई जित्नैपर्ने दबाब परेको हो। नेपालले बंगलादेशसँग १-० गोल अन्तरले जिते पनि नेपाल समूह चरण पार गर्नेछ।
नेपालले जिते नेपाल गोल अन्तरका आधारमा पाकिस्तानलाई पछि पार्दै समूह चरण पार गर्ने छ। खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ६:४५ बजेपछि शुरु हुनेछ।
जारी प्रतियोगिताको प्रदर्शन हेर्ने हो भने घरेलु टोली बंगलादेशलाई पराजित गर्न नेपाललाई निकै गाह्रो हुनेछ। बंगलादेशले समूह चरणमा शतप्रतिशत जित निकालेकाले पनि बंगलादेशलाई पराजित गर्न त्यति सहज हुनेछैन। बंगलादेशको बलियो डिफेन्स, छरितो मिडफिल्ड र आक्रमक फरवार्डलाई रोक्न नेपाललाई मुस्किल हुनेछ। टोपु बरमान, विप्लो अहमद, मेहबुबुर रहमानलगायतका खेलाडीलाई रोक्न नेपालको लागि चुनौतिपूर्ण हुनेछ।
यता, नेपालले समूह चरणको पहिलो खेलमा राम्रो खेल्दा खेल्दैपनि पाकिस्तानसँग अन्तिम समयमा गोल खाँदै २-१ ले पराजित भएको थियो। भुटानविरुद्धको दोस्रो खेलमा अघिल्लो खेलको कमजोरी सुधार गरेर खेल्दा नेपालले भुटानमाथि ४-० को सहज जित निकाल्न सफल भयो।
नेपालले भुटानविरुद्धको खेलमा सबै पक्षमा चुस्त प्रर्दशन गरेको थियो। त्यही खेललाई निरन्तरता दिने सके नेपालले बंगलादेशलाइ पराजित गर्न सक्ने क्षमता राख्दछ।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। बंगलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन्। नेपालले अन्जन बिष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टिममा राखेको छ। बंगलादेशविरुद्ध नियमित कप्तान विराज महर्जन भने पहिलो रोजाईमा परेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४